close

स्थानीय निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग नगरिने 

स्थानीय निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग नगरिने 

Trulli
ADVERTISEMENT

काठमाडौँ– स्थानीय तह निर्वाचन, २०७९ मा कागजको मतपत्रमै मतदान हुनेभएको छ । आयोगले विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन–ईभीएम) प्रयोगका लागि सम्भाव्य अध्ययन गरे पनि स्थानीय निर्वाचनमा प्रयोग सम्भव नहुने जनाएको हो ।

 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा देशैभरि कागजकै मतपत्रमा मतदान हुने सुनिश्चित भएको जानकारी दिए । उनले भने, ‘सम्भाव्यता अध्ययन गर्न गठन गरिएको कार्यदलको सुझाव तथा प्राविधिक समस्याले ईभीएम प्रयोग हुने अवस्था रहेन ।’ स्थानीय निर्वाचनपछि हुने अन्य निर्वाचनमा प्राथमिकतामा राखेर ईभीएमको प्रयोगबारे तयारी गरिने उनले बताए ।

 

माघ २६ गते सम्पन्न आयोग बैठकले ईभीएमको प्रयोगबारे सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले प्राविधिक समिति बनाएर ईभीएमको प्रमाणीकरण गरेपछि मात्रै प्रयोग गर्न सकिने सुझाव दिएको छ । ‘तर त्यस्तो प्राविधिक समिति गठन गरेर प्रमाणीकरण गर्ने कार्य कानुनमा कतै व्यवस्था नभएको,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । कार्यदलको सुझावपछि आयोगले सरकारसँग परामर्श गर्ने जनाएको थियो ।

 

आयोगले कम्तीमा काठमाडौँ उपत्यका वा काठमाडौँ जिल्लाभित्रै भए पनि स्थानीय निर्वाचनमा ईभीएम प्रयोग गर्ने जनाएको थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘कागजको मतपत्रमा मतदान गर्न अभ्यस्त मतदातालाई ईभीएममार्फत मतदान गर्न मतदाता शिक्षा दिनुपर्ने देखियो, त्यस आधारमा समेत प्रमाणीकरणका लागि अनिश्चित समय कुरेर ईभीएमसहित सबै वडा टोलमा पुग्न सम्भव देखिएन ।’ स्थानीय तह निर्वाचनको अब ६५ दिन मात्रै बाँकी छ ।

 

उनले नेपालमै डिजाइन गरिएको विद्युतीय मतदान उपकरण प्रयोग गर्न आयोगले प्रयास गरेकोमा प्रमाणीकरणको समस्याले स्थानीय निर्वाचनमा सम्भव नहुने निचोडमा पुगेको बताए । नेपालका राम र लक्ष्मण रिमाल दाजुभाइले ईभीएम उपकरण डिजाइन गरेका छन् । उक्त उपकरणबाट आयोगको कार्यालयभित्रैको सभा कक्षमा माघ २६ गते नै साङ्केतिक परीक्षण गरिएको थियो ।

 

कार्यदलको सुझावसहित प्रमाणीकरणको काम गरिदिन नेपाल सरकारलाई पत्राचार गर्ने तयारी गरेको थपलियाले बताए । ‘प्रमाणीकरण भएर आए र विश्वसनीय देखियो भने राजनीतिक सहमति गरेर यसपछिको निर्वाचनमा ईभीएम प्रयोग गर्नेछौँ,’ उनले प्रस्ट्याए । नेपालमा पहिलो पटक संविधान सभा निर्वाचन–२०६४ मा काठमाडौँ क्षेत्र नं. १ मा ईभीएमको प्रयोग गरिएको थियो । त्यसपछि धनुषा क्षेत्र नं. ४ लगायतमा उपनिर्वाचनको क्रममा ईभीएमको प्रयोग गरियो ।

 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा मतपत्रको डिजाइनमा फेरबदल गर्ने भएको छ । आयोगले सेतो कागजमा हरियो रङको मतपत्र र नीलो स्वस्तिक चिह्न हुने गरी डिजाइनमा फेरबदल गर्न लागेको हो ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले पछिल्लो चुनावमा रङ र स्वस्तिक चिह्नको संयोजन नहुँदा गणनामा समस्या भएको गुनासोपछि डिजाइनमा परिवर्तन गरिएको प्रस्ट्याए । उनले भने, ‘चुनाव चिह्न हरियो रङको रहनेछ, स्वस्तिक भने यथावत् नीलो राखिनेछ ।’ २०७४ को चुनावमा भने मतपत्र र स्वस्तिक चिह्न दुवै निलो हुँदा गणनामा समस्या आउनुका साथै मतपत्र पट्याउँदा मसी चोथरिन गएको थियो ।

 

प्रवक्ता अर्यालले गणक, निर्वाचन अधिकृत र आयोगको अनुगमन टोलीको सिफारिसका आधारमा आगामी चुनावमा मतपत्र डिजाइनमा आयोगले उक्त निर्णय गरेको बताए । प्रवक्ता अर्यालले भने, ‘मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरू हरियो एसके–३०८१ स्पेक्ट्रम हल्का हरियो मसीले छपाइ गर्ने गरी निर्णय भएको हो ।