close

बागलुङमा एमालेको निर्वाचन केन्द्रित अभियान

बागलुङमा एमालेको निर्वाचन केन्द्रित अभियान

Trulli
ADVERTISEMENT

बागलुङ–नेकपा एमाले बागलुङले संगठन सुदृढीकरण तथा निर्वाचत केन्द्रित अभियानलाई तीव्रता दिएको छ । स्थानीय तहको निर्वाचन घोषणासँगै पहिलो शक्तिको रूपमा स्थापित गर्ने अभियानका साथ संगठन सुदृढीकरण तथा निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गरेको एमालेले शनिबार जिल्लाका विभिन्न ठाउँमा अभियान सञ्चालन गरिरहेको हो । 

 

एमाले जैमिनी नगर कमिटीले सुरु गरेको जनताका प्रश्न जनप्रतिनिधिसँग कार्यक्रमअन्तर्गत शनिबार जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेमा भेला सञ्चालन गरेको थियो ।

 

जनताका प्रश्नको जवाफ दिँदै संघीय सांसद एवं एमाले बागलुङका सह–इन्चार्ज डा. सूर्य पाठकले अदालतको परमादेशबाट सरकार गठन भएसँगै मुलुकको विकासको गति ठप्प भएको आरोप लगाए । एमाले नेतृत्वको सरकारले प्राथमिकतामा राखेका पूर्वाधार निर्माणका बजेट कटौती गरेर वर्तमान सरकारले विकासविरोधी गतिविधी सञ्चालन गरेको उनको भनाइ छ । 

 

अभियानअन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर ६ मा पार्टीको सम्पर्क कार्यालय तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा पार्टीका विदेश विभाग उपप्रमुख कृष्ण केसी, बागलुङ नगर प्रमुख जनकराज शर्मालगायतले बोलेका थिए । 

 

यस्तै, बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङमा टोल भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । भेलामा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी, नेतृ ममतादेवी शर्मालगायतले अबको स्थानीय तहको निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गरे । 

 

बागलुङ नगरपालिका वडा नम्बर ५ मा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण, गलकोट नगरपालिका वडा नम्बर २ र ११ मा प्रशिक्षण तथा वडा कमिटीको पूर्ण बैठक, बडिगाड गाउँपालिकामा गाउँपालिका स्तरीय युवा संघ र मदन भण्डारी स्पोर्ट एकेडेमीको बृहत् भेला आयोजना गरिएको एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र गणेशले जानकारी दिए ।