close

'आर्थिक वृद्धि प्रवर्द्धनका लागि अनुकूल शासन ढाँचा खोजी गर्न समर्थन'

'आर्थिक वृद्धि प्रवर्द्धनका लागि अनुकूल शासन ढाँचा खोजी गर्न समर्थन'

Trulli
ADVERTISEMENT

चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल बसाईको क्रममा राजनीतिक दलका नेता एवं उच्च तहका व्यक्तिहरुसँग भेट गरेका छन् । भेटपछि चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेको छ । चिनिया विदेशमन्त्री वाङ र नेपाली समकक्षी नारायण खड्कासँग शनिबार भएको द्विपक्षीय भेटवार्ताका क्रममा चीनले नेपाललाई तीन विषयमा समर्थन गरेको उल्लेख गर्दै विज्ञप्ति निकालेको छ । 

 

विज्ञप्तिमा के छ ?
विज्ञप्तिको पहिलो विषय नेपाललाई आफ्नो राष्ट्रिय परिस्थितिअनुकूल विकास मार्ग पहिल्याउनेसम्बन्धी छ । ‘चीनको मैत्रीपूर्ण नीति नेपालका सबै पक्ष र जनताका लागि खुला छ । चीनले नेपालका सबै दल र समूहलाई नेपाली जनताको आधारभूत र दीर्घकालीन हितलाई ध्यानमा राखेर समावेशी, परामर्शदायी, एकताबद्ध र सहयोगी बन्न, राजनीतिक स्थिरता कायम राख्न, आर्थिक वृद्धि प्रवर्द्धनका लागि अनुकूल शासन ढाँचा संयुक्त रूपमा खोजी गर्न समर्थन गर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चीन नेपाली पक्षसँग राज्य शासन र प्रशासनमा अनुभव आदानप्रदानलाई सुदृढ गर्न इच्छुक छ ।’

 

दोस्रो विषय नेपाललाई स्वतन्त्र स्वदेशी तथा विदेश नीति अवलम्बनमा सहयोग गर्नेसम्बन्धी छ । ‘साना वा ठूला सबै देश समान छन् र सबै देशको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको सम्मानमा चीनले सधैं जोड दिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको मामिलामा नेपाली जनताले नै निर्णय गर्नुपर्छ भन्ने चीनको विश्वास छ । चीनले नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा खलल पार्ने, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नेपालको भूराजनीतिक खेलमा संलग्न हुने प्रयासको विरोध गर्छ ।’ नेपाल अन्य देशसँगको मैत्रीपूर्ण सम्बन्धमा बसेको र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा ठूलो भूमिका खेलेको देख्दा चिनियाँ पक्ष खुसी रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

 

तेस्रो विषय ‘बेल्ट एन्ड रोड’ सम्बन्धी छ । ‘दुई देशले बेल्ट एन्ड रोडको संयुक्त निर्माणमा सन्तोषजनक प्रगति गरेका छन् । चिनियाँ पक्ष दुई पक्षबीचको मुख्य सहयोग परियोजनाको प्रवर्द्धनलाई तीव्रता दिन, दुई देशबीचको भूमि बन्दरगाहको सहज प्रवाह सुनिश्चित गर्न, सीमापार ऊर्जा सहयोगको विकासको अन्वेषण गर्न, आर्थिक र सांस्कृतिक माध्यमहरूलाई समृद्ध र विस्तार गर्न इच्छुक छ,’ विज्ञप्तिमा भनिएको छ । वाङले नेपाललाई मानव संसाधन, भौगोलिक स्थिति र प्राकृतिक परिस्थितिका फाइदा लिन, चीनका अवसर साझा गर्न र आफ्नो विकास तथा पुनरुत्थानलाई गति दिनका लागि मद्दत गर्न इच्छुक रहेको बताएको पनि विज्ञप्तिमा उल्लेख छ । अन्तर्राष्ट्रिय र घरेलु परिस्थिति जतिसुकै परिवर्तन भए पनि चीनले दुई देशका नेताले तोकेको निर्देशन पालना गर्ने, नेपालप्रतिको मैत्रीपूर्ण नीतिलाई अडिग रूपमा कार्यान्वयन गर्ने, पारस्परिक हितकारी सहयोगलाई मजबुत बनाउने र निर्माणलाई अगाडि बढाउन जोड दिने पनि विज्ञप्तिमा जनाइएको छ ।