close

स्थानीय निर्वाचनमा भाग लिन्छु भन्ने दलमध्ये १३ दलको उम्मेदवारी शून्य

स्थानीय निर्वाचनमा भाग लिन्छु भन्ने दलमध्ये १३ दलको उम्मेदवारी शून्य

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा नयाँ दल दर्ता गर्न ५०० मतदाताहरूको सक्कल हस्ताक्षर चाहिन्छ । नेपालमा दर्ता भएका ११० राजनीतिक दलमध्ये ८० वटा राजनीतिक दलले यही वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा भाग लिने प्रतिवद्धता जनाएका थिए । ८० मध्ये ७३ दलले सबै जिल्लामा उम्मेदवारी दिन्छौं भनेर गत चैत पहिलो हप्ता निर्वाचन आयोगलाई जानकारी पनि दिएका थिए ।

यसअघि राष्ट्रिय दल मान्यता पाएका ६ दलले मात्र आफ्नो पार्टीको चुनाव चिह्न दिने निर्वाचन आयोगले ऐनअनुसार बताएका थिए ।  ऐनमा राष्ट्रिय मान्यता प्राप्त दलले मात्रै चिह्न पाउने र अन्य दलले स्वतन्त्र हैसियतमा निर्वाचनमा भाग लिनुपर्ने प्रावधान छ। 


तर, यो प्रावधानमा साना दलले विरोध जनाएका थिए। आयोगले साना दलको माग सम्बोधन गर्न जिल्लामा दलकै चिह्नबाट निर्वाचनमा भाग लिन सक्ने विशेष निर्णयसमेत गरेको थियो।


निर्वाचन आयोगले दलहरूकै माग अनुसार आयोगले सदाशयता देखाएर कानुनको सकारात्मक व्याख्या गरी चुनाव चिह्न प्रदान गरी मतपत्र छपाइ गरेको थियो । तमपत्र छापिएको छ भने उम्मेदवार दर्ता गर्ने समय पनि समाप्त भइसकेको छ । 


तर निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार चुनाव चिह्न पाएका १३ दलबाट एकजनाको पनि उम्मेदवारी परेको छैन । आयोगले भने ती दलको समेत चुनाव चिह्न छापेर जिल्ला पठाइसकेको छ ।


आयोगले शुक्रबार दलगत रूपमा सार्वजनिक गरेको उम्मेदवारको विवरणअनुसार रवीन्द्रप्रसाद सिंह अध्यक्ष रहेको वैज्ञानिक समाजवादी पार्टी (रकेट चिह्न), कुमार राई अध्यक्ष रहेको सामाजिक लोकतान्त्रिक पार्टी, भरतमणि दाहाल अध्यक्ष रहेको त्रिमूल नेपाल (गजुर), रामबहादुर गुरुङ (रञ्जित) अध्यक्ष रहेको माओवादी जनमुक्ति पार्टी (कुचो), धनेन्द्रबहादुर बस्नेत अध्यक्ष रहेको मितेरी पार्टी (घोडा) बाट उम्मेदवारी परेको छैन 


यस्तै, निलु कुमारी अध्यक्ष रहेको राष्ट्रिय विकास पार्टी (हात्ती), किरणकुमार शर्मा पौडेल अध्यक्ष रहेको नेपालवाद (तारापुञ्ज), कौशलकुमार सिंह अध्यक्ष रहेको लोक दल (लुगा सिउने कल), रोमलाल गिरी अध्यक्ष रहेको नेपाल आमा (बच्चा काखमा लिएकी आमा), दीपक लामिछाने अध्यक्ष रहेको समावेशी लोकतान्त्रिक (खुलेको एक आँखा), ज्ञानसेर राई अध्यक्ष रहेको संघीय खम्बुवान लोकतान्त्रिक पार्टी (हवाईजहाज), हुकुमबहादुर लामा अध्यक्ष रहेको नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिक (डोको), गंगालाल श्रेष्ठ अध्यक्ष रहेको नेपाल नौलो जनवादी पार्टी (चिठी बोकेर उड्न लागेको परेवा) बाट पनि कुनै उम्मेदवारी परेको छैन।


'उहाँहरूकै मागअनुसार चिर्वाचन चिह्न दिइयो तर, उहाँहरूले उम्मेदवार पठाउनु भएन । निर्वाचनलाई जटिल बनाउन मात्र उम्मेदवारी दिन्छौं भनेकोजस्तो देखियो,' निर्वाचन आयोगका सूचना अधिकारी अर्यालले पालिकाखबरसँग भने ।