close

बुटवल उपमहानरपालिकामा कसले मार्ला बाजी ?

बुटवल उपमहानरपालिकामा कसले मार्ला बाजी ?

Trulli
ADVERTISEMENT

रुपन्देही । स्थानीय चुनाव नजिकिँदै जाँदा रुपन्देहीमा पनि राजनीतिक दल आर्थिक तथा सामाजिक मुद्दा बोकेर घर–घर पुगेका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय चुनाव लक्षित गरी उनीहरू माहोल आफ्नो पक्षमा सिर्जना गर्न जनताका घर–घरमा पुगेका हुन् । 

 

अन्य जिल्लाको तुलनामा रुपन्देही रुपन्देहीको एकमात्र उपमहानगर बुटवल लुम्बिनी प्रदेशको अस्थायी राजधानी भएका कारण पनि माहोल फरक छ । 

 

एकातिर सत्तारुढ गठबन्धनसहितका मुख्य दलको मोर्चाबन्दी र अर्कोतिर नेकपा एमाले एक्लै मैदानमा छ । 

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुटवलको मेयरमा नौ जनाले उम्मेद्वारी दिएका छन् । तर, मुख्य प्रतिस्पर्धा गठबन्धनका साझा उम्मेद्वार कांग्रेस नेता खेलराज पाण्डे र एमालेबाट मेयर पदका उठेका उम्मेद्वार बाबुराम भट्टराईबीच हुनेछ ।

 

नेकपा एकीकृत समाजवादीका नेता गुरुङलाई गठबन्धनले उपमेयरको साझा उम्मेद्वार बनाएको छ भने एमालेले उपमेयरमा पार्टीका केन्द्रीय सदस्य सावित्रा अर्याललाई अगाडि सारेको छ । मेयरमा दुई गाउँले र उपमेयरमा पूर्वसहयात्री बीचको प्रतिस्पर्धाले बुटवलको स्थानीय तह निर्वाचनलाई रोचक बनाएको छ । 

 

बुटवल उपमहानगरकोे नेतृत्व गर्न गठबन्धन गरेर पाण्डे र एमाले नेता भट्टराई चुनावी मैदानमा उत्रेका छन् । 

 

बुटवलमा २०५६ सालपछिका स्थानीयदेखि संसदीय निर्वाचनमा एमालेले एकछत्र ‘राज’ गर्दै आएकाले यसपटक, कांग्रेस, माओवादी केन्द्र, नेकपा एसलगायत सत्तारुढ दललाई एक्लै ‘फेस’ गर्नुपर्ने भएको छ । 

 

यही मौकामा नेपाली कांग्रेस गठबन्धनसँग मिलेर बुटवलमा एमालेको गढ भत्काउने प्रयत्नमा छ । 

 

गत स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेद्वार शिवराज सुवेदीले यस नगरमा बाजी मारेका थिए । सुवेदीले २३ हजार २४९ र कांग्रेसका खेलराज पाण्डेले २० हजार ८सय ५१ मत ल्याएका थिए । सुवेदी र पाण्डेको मतान्तर २ हजार ३ सय ९८ मात्रै थियो ।

 

उपमेयरमा एमालेकी गुमादेवी आचार्यले २५ हजार ३०१ मत ल्याएका थिए भने जगतबहादुर पोखरेलले १४ हजार ७ सय ९२ मत ल्याएका थिए । 

 

१९ वडा रहेको बुटवलमा अहिले २४ हजार मतदाता थपिएका छन् । गत निर्वाचनमा ६६ हजार ९० मतदाता रहेको बुटवलमा अहिले ९० हजार ६५ मतदाता पुगेका छन् ।

 

१९ वडा रहेको बुटवलमा १४ वडामा एमाले र ४ वडामा कांग्रेस र एक वडामा माओवादीले जित निकालेको थियो । 

 

नेकपा एमाले २०५६ र ०७४ सालको स्थानीय निर्वाचन जितेको एमाले आफ्ना उम्मेद्वार भट्टराईलाई जिताएर बुटवलमा ‘ह्याट्रिक’ गर्ने रणनीतिका साथ लागेको छ । 

 

त्यसैगरी, पाण्डे सत्ता गठबन्धनको बलबाट बुटवलमा एमाले किल्ला भत्काउन ध्याउन्नमा छन् । पाँच वर्षअघि कांग्रेस र माओवादीले गठबन्धन गरेर चुनाव लड्दा पनि एमाले एक्लै मेयर, उपमेयरसहित बहुमत वडामा जितेकाले गठबन्धनलाई बुटवलमा एमालेको शक्ति भत्काउन सहज भने त्यति देखिँदैन । 

 

बुटवल नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र हो । पौडेलले बुटवलबाटै २०६४, २०७० र २०७४ सालको संसदीय निर्वाचन जितेका छन् । 

 

कांग्रेस विगत २२ वर्षदेखि बुटवलमा दह्रो गरी कहिल्यै उभिन सकेको छैन । २०७० सालको दोस्रो संविधानसभा चुनावमा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई पनि साविक रुपन्देही क्षेत्र नम्बर ४ (हाल २) बाट लडेका थिए । तर, उनले तेस्रो मत ल्याएका थिए । 

 

एमालेमा आएको विभाजनले मतदाता घटेका छन् । तर,  एमालेले यो कुरालाई स्वीकार गर्दैन । एमाले उम्मेद्वार भट्टराईले आफूले निर्वाचित भएर बुटवललाई बदल्ने दाबी गरे । बलियो संगठन, इमानदार र जुझारु कार्यकर्ता रहेका कारण आफूले जित्ने भट्टराई बताउँछन् ।

 

बुटवलको सुकुम्बासी समस्या, ज्योतिनगर पहिरोदेखि साना व्यवसायीका सबै समस्या समाधान गराउन नगरवासीले यसपटक आफूलाई रोज्ने पाण्डेको दाबी छ ।

 

गठबन्धन दलका सबै कार्यकर्ताबाट भोट आए आफूले अंकगणितको आधारमा जित्ने पाण्डेको विश्वास छ । 

 

‘हाम्रो पार्टीभित्र देखिएको असन्तुष्टिले चुनावी परिणाममा असर गर्दैन । बुटवलमा विकल्पको खोजी भइरहेको छ । म यसपटक चुनाव जित्छु,’ पाण्डेले भने, ‘गठबन्धन इमानदारिताका साथ कार्यान्वयन भए बुटवलमा यसपटक नेतृत्व उल्ट्याउन सकिन्छ । यसपटक भोट क्रस गर्ने छुट कसैलाई हुने छैन,’ उनले भने ।

 

जनता समाजवादी पार्टी (जसपा) नेपालले बुटवलमा मेयर÷उपमेयर दुवैमा उम्मेद्वारी दिएको छ । चुनावको गणित र जनताले अहिले बुटबलमा गठबन्धनलाई रोज्ने विश्वास रहेको उपमेयरका उम्मेद्वार चीनबहादुर गुरुङले बताए ।

 

गठबन्धनबाट उपमेयरका उम्मेद्वार गुरुङले बुटवलका जनताले परिवर्तन खोजेकाले गठबन्धन गरेर चुनावमा होमिएको बताए । उनी एमालेबाट समाजवादीमा आएका हुन् । 

 

उनी एमालेका पुराना र विश्वासिला मजदुरका नेताका रूपमा परिचित छन् । दुई कार्यकाल उनी एमालेको तर्फबाट वडा सदस्य भएका थिए ।

 

बुटवल पहाडी जिल्लाको बसाइसराइको केन्द्र हो । बुटवलको जनसंख्या झण्डै २ लाख छ । राजनीतिक दलका नेता कार्यकर्ता चुनावी प्रचारमा छन् । 

 

यसकारण एमालेलाई गाह्रो छ चुनाव जित्न 

 

एमालेबाट विभाजन भएको समाजवादी अहिले एमालेका लागि अभिसाप बनेको छ । एमालेका नेता कार्यकर्ता नै समाजवादीका नेता कार्यकर्ता हुन् ।

 

अर्काे कारण एमालेलाई बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क छ लेन सडक संघीय सरकारको सडक भए पनि स्थानीयको बुझाइ बुटवल उपमहनगरको कारण धुलो धुवा अस्तव्यस्त भएको बताउँछन् । 

 

अहिले चुनावी चर्चा एमालेका लागि अर्काे घातक बन्नसक्ने देखिन्छ । एमालेका प्रभावशाली नेता विष्णु पौडेलले प्रदेशको राजधानी बुटबलमा राख्न सहयोग नगरेका कारण पनि एमालेका लागि बुटवलको मेयर जित्न अर्काे फलामको चिउरा चपाउनुजस्तै देखिन्छ ।

 

पानीको समस्या रहेको बुटबलमा झुम्सा खोला खानेपानी आयोजना, बुटवलको सुकुम्बासी समस्या ज्योतिनगरको पहिलो र एमालेबाट शङ्कर पक्ष र विष्णु पौडेल पक्षको आन्तरिक लडाइका कारण एमालेलाई बुटवलको मेयर जित्न मुस्किल पर्ने अवस्था देखिने स्थानीयको बुझाइ छ ।

गठबन्धन एमालेको किल्ला तोड्न चाहन्छन् ।