close

रोचक बन्दै तिलोत्तमाको चुनाव, निर्णायक नयाँ मतदाता

रोचक बन्दै तिलोत्तमाको चुनाव, निर्णायक नयाँ मतदाता

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देहीको  तिलोत्तमा नगरपालिकामा स्थानीय निर्वाचनका लागि योपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेताहरू दुई ‘हेभिवेट’ नेता रहेको नगरपालिकामा २०७४ हारको बदला लिन र विरासत जोगाउन आक्रामक रूपमा लागेका छन् । 

 

यो नगर कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण र एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री घनश्याम भुसालको गृहनगर पनि हो । दुवै नेताका कारण मात्रै होइन, ०७४ सालमा तिलोत्तमा एमालेबाट विजयी भएका वासुदेव घिमिरेका कारण पनि यो नगरपालिका चर्चामा छ । 

 

कांग्रेस रुपन्देहीका सभापति रहेका रामकृष्ण खाँण नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर अघिल्लो चुनावमा भोगेको हारलाई जितमा परिणत गर्ने जमर्कोमा छन् ।

 

उनले २०७४ सालमा एमालेका वासुदेव घिमिरेसँग दुई हजार ७ सय ७४ मतान्तरले पराजित भएका थिए । योपटक तिनै खाँण एमालेसँगको हारको बदला लिन आकर्षक एजेन्डासहित चुनावी मैदानमा छन्। खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदार भाइ हुन् ।

 

०७४ मा रामकृष्णले १९ हजार ९४ मत ल्याउँदा एमालेका वासुदेव घिमिरेले २१ हजार ८ सय ६८ मत ल्याएर विजयी बनेका थिए । योपटक एमालेको तर्फबाट मोहन चापागाईंलाई अघि सारिएको छ । चापागाईं लामो समय पत्रकारितामा क्रियाशील थिए । 

 

तिलोत्तमामा पाँच दलीय गठबन्धन भने कायम छैन  । नेपाली कांग्रेस र नेकपा माओवादीबीच मात्र यहाँ गठबन्धन बनेको छ । कांग्रेस र माओवादी केन्द्रबाट मेयरमा खाँण र उपमेयरमा हेमन्त पाण्डे उम्मेद्वार छन् ।

 

एमालेबाट मेयरमा मोहन चापागाईं र उपमेयरमा जागेश्वरीदेवी चौधरी चुनावी मैदानमा छन् । तिलोत्तमामा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी मेयरमा महिला उम्मेद्वार खडा गरेको चुनावी प्रचारमा व्यस्त छ । 

 

एकीकृत समाजवादीले मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा इञ्जिनियर सञ्जीव भण्डारी उम्मेद्वार बनाएको छ । समाजवादीले भ्रष्टाचार नियन्त्रण, जनप्रतिनिधिको सेवा सुविधा कटौतीसहित नागरिकलाई राहत दिनेखालका प्रतिबद्धतासहितको चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । 

 

अघिल्लोपटक नेपाली कांग्रेससँग गठबन्धन गरेको राष्ट्रिय जनमुुक्ति पार्टी एक्लै चुनावमा उठेको छ । मेयरमा सुन्दर गुरुङ र उपमेयरमा गीता सारु उम्मेद्वार छन् । यसअघि कांग्रेसबाट मेयरमा खाण उम्मेद्वार हुुँदा सारु उपमेयरकी उम्मेद्वार थिइन् । उनले १८ हजार ७ सय ८४ मत ल्याएकी थिइन् । 

 

कांग्रेस–माओवादीका चुनावी एजेन्डा 

 

कांग्रेस–माओवादी गठबन्धनबाट मेयरका उम्मेद्वार बनेका कांग्रेस रुपन्देहीका सभापतिसमेत रहेका रामकृष्णका लागि यो निर्वाचन जित्नै पर्नेछ । 

 

जिल्ला सभापति तथा गृहमन्त्रीका भाइ भएकाले विपक्षीको निशानामा पनि परेका छन् । अर्को, उनी दोस्रो पटक उम्मेद्वार भएका हुन् । यी कारणले गर्दा रामकृष्णका लागि यो पटक जित्नैपर्ने दबाब छ। 

 

खाँणले निर्वाचनमा योपटक एमालेको पाँचवर्षे कार्यकालमा भ्रष्टाचार बढेको भन्दै चर्को आलोचना गरेका छन् । 

 

कांग्रेस–माओवादी गठबन्धनको संयुुक्त प्रतिबद्धतापत्रमा ‘भ्रष्टाचार मुक्त तिलोत्तमा नगर सरकार’ भन्ने नारा तय गरेको छ । त्यतिमात्रै होइन, नगरपालिकाले लगाएको एकीकृत सम्पत्ति कर ५० प्रतिशत घटाउने प्रतिबद्धता गरेको छ । 

 

घोषणापत्रमा रुग्ण उद्योग व्यवसायको तिर्न बाँकी करमा ५० प्रतिशत छुट दिने, सडक निर्माण गर्दा हाल नगरवासी उपभोक्ताबाट ५० प्रतिशतसम्म लागत साझेदारी गर्नुपर्ने व्यवस्था पूर्ण रूपमा अन्त्य गरी सरकारी बजेटमा बनाउने प्रतिबद्धता गरिएको छ ।

 

विगतमा २ हजार ७ सय ७४ मतले हार भोगेका रामकृण खाँणले नयाँ मतदाताको मत कति तान्छन् र नेकपा एसले कति मत काट्छ त्यसले जितहारको टुंगो लगाउनेछ ।

 

यस्तै, ३० युनिट विद्युत् महसुल र खानेपानीको न्यूनतम महसुल निःशुल्क गरिने तथा इन्डक्सन चुल्हो खरिदमा ६० प्रतिशत अनुदान दिने प्रतिबद्धता छ । 

 

एक घर एक रोजगार वा व्यवसाय नीति कार्यान्वयन, अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाई पाँच वर्षभित्र सबैलाई लालपुर्जा वितरण गरी सुकुम्वासी समस्या सधैँका लागि अन्त्य गर्ने, जनताबाट उठाएको करले शालिक, गेट, स्तम्भ, भ्युटावर नबनाउने घोषणापत्रमा भनिएको छ ।

 

उपहार र भोजभतेरमा पूर्णरुपमा बन्देज लगाउने, जन्म विवाह, मृत्यु दर्ता, बसाइँसराइ प्रमाणपत्र नागरिकको घरमै गएर सेवा दिने प्रतिबद्धतापत्रमा छ । नगरपालिकाको नयाँ प्रशासनिक भवनलाई अस्पताल बनाउने घोषणा गरेको छ । 

 

जसको एमालेले विज्ञप्ति नै जारी गरेर खण्डन गरेको छ। कांग्रेस माओवादी गठबन्धन यो पटक तिलोत्तमामा जसरी पनि नेतृत्व हत्याउन आकर्षक प्रतिबद्धता पत्र मात्रै सार्वजनिक गरेको छैन, घरदैलोमा पुगेर नयाँ काम गर्ने प्रतिबद्धता जनाइरहेका छन् ।

 

एमालेका चुनावी एजेन्डा

तिलोत्तमा एमालेको लागी जीवन–मरणको सवाल बनेको छ ।राम्रो काम गरेर चर्चामा रहेको तिलोत्तमा अहिले जित्नुपर्नेछ । रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये सात पालिका एमालेले जितेको थियो । यी  पालिकामध्ये सुरुदेखि नै तिलोत्तमाले चर्चा कमायो । 

 

नेकपा एमालेका उम्मेद्वार मोहन चापागाईं अहिले घिमिरे नेतृत्वको सरकारले गरेका कामहरूको फेहरिस्त लिएर घरदैलोमा छन् । पत्रकारितामार्फत बटुलेको विश्वासलाई यो पटक राजनीतिक सफलतामा चापागाईंलाई चुनाव जित्नैपर्ने दबाब छ। 

 

चापागाईंलाई यो पटक एमालेको विरासत त जोगाउन छँदैछ, त्योसँगै एमाले नेतृत्वको सरकारको सफलतालाई प्रमाणित गर्नुपर्ने छ । भुसाल निकटकी जागेश्वरीदेवी चौधरी उपप्रमुखको उम्मेद्वार छिन् ।

 

भुसालको सक्रियता गत निर्वाचनमा भन्दा सुुस्ताएको एमाले कार्यकर्ता बताउँछन् । तर, केही दिनयता भेटघाटमा व्यस्त हुन थालेका छन् ।

एमालेले पाँच बर्षे उपलब्धीलाई लिपिबद्ध गरेर घोषणापत्र बनाएको छ । अबको पाँच वर्ष पूर्वाधारको स्तरोन्नति तथा तिलोत्तमाका दीर्घकालीन समस्या समाधान र यहाँको व्यवस्थित विकासमा केन्द्रित गर्ने चुनावी प्रतिबद्धता गरेको उसले छ ।

 

‘तिलोत्तमामा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषिको जुन गतिमा विकास भएको छ, त्यही गतिमा यहाँको विकासलाई लैजानको लागि यसअघि राम्रो आधार तयार भएको छ, चापागाईंले भने, ‘अब त्यसलाई थप गति दिन प्रतिबद्ध छु ।’

 

फराकिला सडक, आधारभूत स्वास्थ्य उपचारलाई निःशुल्क गर्ने, सार्वजनिक सेवा प्रवाह र सुशासनलाई मुख्य प्राथमिकता दिने, हरियाली प्रवर्द्धनलाई निरन्तरता दिने, गाडी हिँड्ने ओभरफ्लाइ ब्रिज निर्माण गर्ने, कृषिमा अनुदान वृद्धि गर्ने एमालेको प्रतिबद्धता छ । 

 

कति छन् मतदाता ?

 

१७ वडा रहेको तिलोत्तमा नगरपालिकामा ८५ हजार ७ सय ४७ मतदाता छन्। २०७४ मा भन्दा यो पटक २५ हजार २ सय ९७ हजार मतदाता थपिएका छन्। 

 

तिलोत्तमामा विवेकशील साझा पार्टीले समेत मेयरमा उम्मेद्वारी दिएको छ । राप्रपाले पनि मेयरमा उठाएको छ । यी दलहरूले नयाँ पुस्ताका केही मत काट्नेछ । ०७४ सालमा एमालेका उम्मेदवारले २१ हजार ८ सय ६८ मत पाएको हो । नेपाली कांग्रेसका उम्मेदवारले १९ हजार ९४ मत ल्याएका थिए । 

 

कांग्रेसलाई राष्ट्रिय जनमुुक्तिले साथ दिएको थियो । नेकपा माओवादीले २ हजार ६ सय ५१ मत ल्याएको थियो । एमाले विभाजन भएकाले नेकपा एकीकृत समाजवादीले केही मत काट्नेछ। 

 

जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले मेयर र उपमेयरमा कांग्रेस माओवादीलाई समर्थन गरेका छन् । एकीकृत समाजवादीका तर्फबाट मेयर पदकी उम्मेद्वार आशा कुमारी चौधरीले समेत थारु समुदायको मत काट्ने बताइएको छ। 

 

विगतमा २ हजार ७ सय ७४ मतले हार भोगेका रामकृण खाणले नयाँ मतदाताको मत कति तान्छन् र नेकपा एसले कति मत काट्छ त्यसले जितहारको टुंगो लगाउनेछ। अहिलेको सुरुमै कसले बाजीमार्ने छ भन्दा पनि आगामी वैसाख ३० गते हुने निर्वाचनको मतपरिणामले देखाउने नै छ ।