close

बालेनलाई स्थापितको बधाई : विपक्षमा मतदान गर्नेको मन जित्न आग्रह

बालेनलाई स्थापितको बधाई : विपक्षमा मतदान गर्नेको मन जित्न आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको प्रमुखको निर्वाचनमा तेस्रो बनेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले नवनिर्वाचित मेयर बालेन साहलाई सफल कार्यकालका लागि बधाई दिएका छन् ।

 

निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान साह मेयरमा विजयी भएको घोषणा गरेपछि विज्ञप्तिमार्फत बालेनलाई बधाई दिँदै स्थापितले आफूलाई अवसर दिने एमालेप्रति आभार व्यक्त गरेका छन् ।

 

‘म पटक–पटक लड्दा फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ । त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रूपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौँ–पुस्ता जन्मिएको माटो हो । त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको संस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ,’ स्थापितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

साथै उनले पाँच वर्षे कार्यकालमा बालेनको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने तवरले काम गर्ने अपेक्षा पनि लिएको बताएका छन् ।

 

‘जनताको सेवक भएर काम गर्ने मेरो आकांक्षाले यस पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन यद्यपि, यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकांक्षा अलिकति पनि धरमराएको छैन। निर्वाचनमा पराजय भोग्दै गर्दा काठमाडौँ महानगरपालिकामा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु । काठमाडौँ महानगरवासीले तपाईमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक मतपत्रको तपाईले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु,’ उनले भनेका छन् ।