close

सडक खानेपानी विद्युत्को काम छिटो सक्न बुटवल नगरप्रमुख पान्डेयको निर्देशन

सडक खानेपानी विद्युत्को काम छिटो सक्न बुटवल नगरप्रमुख पान्डेयको निर्देशन

Trulli
ADVERTISEMENT

रुपन्देही  । बुटवल उपमहानगरपालिका नवनिर्वाचित नगर प्रमुख खेलराज पाण्डेयले राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक विस्तारको काम  र  ज्योतिनगर पहिरो ब्यवस्थापनमा चासो देखाएका छन् । 

 

कार्यभार समालेको दोस्रो दिन उपमहानगरपालिकाको कार्यालयमा सरोकारवाला निकायसँग छलफल गर्दै सडक विस्तारको काम छिटो सक्न सडक डिभिजन कार्यालय र ठेकेदारलाई निर्देशन दिएका हुन् । 

 

सडक विस्तारको काम सुस्त गतिमा चल्दा जनताले दुख पाएको र बुटवलमा वायु प्रदूषण बढेकाले काम छिटो सक्न पाण्डेयले सम्बन्धित निकायलाई निर्देशन दिनु भएको हो।

 

उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी , प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, बुटवल बेलहिया व्यापारिक मार्ग आयोजनाका निमिक्त प्रमुख सविता ज्ञवाली, नेपाल खानेपानी संस्थान बुटवल , नेपाल विद्युत् प्राधिकरण बुटवल शाखा प्रमुखहरूको उपस्थितिमा भएको छलफलमा वर्षायाम अघि नै नाली निर्माणको काम सम्पन्न गर्न सम्बोधित निर्माण व्यवसायीलाई निर्देशन दिएको हो ।

 

सडकको क्षेत्राधिकारभित्र रहेका खानेपानीका पाइप, विद्युत्का पोल तत्काल  स्थानान्तरण गर्नका लागि नेपाल खानेपानी संस्थान र नेपाल विद्युत् प्राधिकरण बुटवलसँग  समन्वयन तथा सहयोगको लागि अनुरोध गर्ने निर्णय भएको नगर प्रमुख पाण्डेयले बताए । 

 

यस्तै, ज्योतिनगर पहिरो व्यवस्थापनको लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति इकाइ र डिभिजन वन कार्यालयका प्रतिनिधिसँग पनि नगर प्रमुखले छलफल गरे । 

 

पहिरो क्षेत्रको अध्ययन गरी तत्काल पहिरो ब्यवस्थापनमा लाग्न सरोकारवालाहरुसँग छलफल चलाएको उनले बताए । 

 

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति ,  डिभिजन वन कार्यालय र  उपमहानगरपालिकाबाट संयुक्त अनुगमन तथा प्राविधिक समिति गठन गरी पहिरो क्षेत्रको अध्ययन  गरी सुझाव पस गरिने भएको छ । 

 

सुझाव र लागत अनुमानका आधारमा उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखाबाट कार्य गर्ने निर्णय भएको छ ।  पहिरो क्षेत्रमा आवश्यक ग्याविन जाली भर्ने काम र पानीका मुहानको व्यवस्थापनका लागि स्थलगत अनुगमन गर्ने  र आवश्यक कामको लागि प्राविधिक खटाउने निर्णय भएको छ ।

 

यस्तै, उपमहानगरपालिकाले तथ्य संकलन भएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुका लागि परिवार अव्यवस्थित बसोबास अभिलेखीकरण प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको छ ।