close

महानगरको वडामा समेत खुम्चिँदै एमाले

काठमाडौँ बाहेक सबै महानगरमा गठबन्धन जित नजिक

महानगरको वडामा समेत खुम्चिँदै एमाले

काठमाडौँ बाहेक सबै महानगरमा गठबन्धन जित नजिक

Trulli
ADVERTISEMENT

काठमाडौँ । स्थानीय तहको मतदान सम्पन्न भएको १० दिन बित्दा समेत अहिलेसम्म सबै पालिकाका अन्तिम परिणाम आउन सकेको छैन ।

 

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ७५३ स्थानीय तह मध्ये ७२७ तहको मत परिणाम सार्वजनिक भइसकेको छ । बाँकी रहेका २६ मध्ये २४ स्थानमा मतगणना जारी छ भने बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकामा भने विवादका कारण मतगणना सुरु हुन सकेको छैन ।

 

६ वटा महानगरपालिका मध्ये अहिलेसम्म विराटनगरको परिणाम सार्वजनिक भएको छ । यद्यपि बाँकी ५ वटा महानगरपालिकामा केही प्रतिशत मत गन्न बाँकी भए पनि विजेताको टुङ्गो लगभग लागिसकेको छ । 

 

काठमाडौँ महानगरपालिकामा ४५ हजार ९८२ मत सहित बालेन्द्र (बालेन) साह क्रमशः जिततर्फ अग्रसर छन् । यो महानगरपालिका नेपाली काँग्रेसकी सिर्जना सिंहले २७ हजार ४२३ तथा नेकपा एमालेका केशव स्थापितले २६ हजार ४५४ मत प्राप्त गरेका छन् ।

 

१ लाख ९१ हजार १८६ मत खसेको काठमाडौँमा लगभग ७५ प्रतिशत मत गणना भइसकेको छ । ३२ मध्ये १९ वटा वडाको नतिजा समेत आइसकेको छ । 

 

केही वडाको मतगणना अन्तिम चरणमा छ भने केहीको मतगणना सुरु गरिएको छ । अन्तिम परिणाम आएको १९ मध्ये ८ वटा वडामा सफलता पाएको एमालेले २०७४ सालमा जितेका केही वडा समेत गुमाएको छ । 

 

पछिल्लो निर्वाचनको परिणाममा सुधार ल्याउँदै काँग्रेसले भने काठमाडौँका ११ वटा वडामा जित हात पारिसकेको भने बहुमत वडामा अग्रता लिइरहेको छ ।

 

 

ललितपुर महानगरको प्रमुखमा ३५ हजार ७०३ मत पाइसकेका चिरीबाबु महर्जन विजयको नजिक पुगेका छन् । उनलाई पच्छाइरहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले २० हजार ९४२ मत पाएका छन् ।

 

ललितपुरका २९ वटा वडा मध्ये अहिले २१ वटाको नतिजा सार्वजनिक भइसकेको छ । जसमा काँग्रेसले १०, ६ तथा नेकपा एकीकृत समाजवादीले २ वटा वडामा सफलता पाएका छन् । 

 

सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले मात्र एउटा वडा जित्दा दुइटामा पुतली चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । जसमध्ये वडा नं. १ मा निर्मल तुण्डकार र वडा नं. १३ मा गणेश केसी रहेका छन् ।  

 

यस्तै भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहालले ४४ हजार ३०५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् ।

 

भरतपुरको कुल २९ मध्ये २२ वटा वडाको परिणाम आइसकेको छ । जसमध्ये १३ वटामा काँग्रेस विजयी भएको छ । यस्तै गठबन्धनमा रहेका माओवादी केन्द्रले मात्र १ वटा वडामा जित्दा एकीकृत समाजवादीले भने ३ वटामा वडामा जित हात पारेको छ । एमालेले विगतको प्रदर्शन कायम राख्न नसक्दा अहिलेसम्म ५ वटा वडामा खुम्चिनु परेको छ ।

 

उता वीरगन्ज महानगरपालिकामा जितको नजिक पुगेका जसपाका राजेशमान सिंहले ३९ हजार ६६१ मत पाएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सरावगीले भने २० हजार २०५ मत मात्रै पाएका छन् ।

 

वीरगन्ज महानगरपालिका अहिले ३२ मध्ये २२ वटा वडाको नतिजा आइसकेको छ । जसमध्ये जसपा ९, काँग्रेस ८, एमाले ४, लोसपा एउटा वडामा विजयी भएका छन् ।

 

यस्तै एमालेलाई महानगर जित्नबाट रोक्ने क्रममा पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले ४९ हजार २४२ मत पाएका छन् । उनीभन्दा ४ हजार ९७९ मतले पछाडि परेका एमालेका कृष्णबहादुर थापाले ४५ हजार २६२ मत पाएका छन् ।

 

पोखरा महानगरपालिका ३३ वटा वडा मध्ये २६ वटाको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये काँग्रेसले बहुमत १७ वटा वडामा जित हासिल गरेको छ । यस्तै एमालेले ९ वटा वडामा जित हासिल गरिसक्दा मेयरमा अग्रता लिइरहेको एकीकृत समाजवादीले एउटै पनि वडामा जित निकाल्न सकेको छैन । 

 

६ वटा महानगरमध्ये विराटनगरमा भने काँग्रेसका नागेश कोइराला यसअघि नै विजेता घोषित भइसकेका छन् ।