close

‘बुटवलवासीको दुःख, भोक, रोग, शोक, पीडा सबै हरण गर्ने सामर्थ्य मिलोस्’ : नगरप्रमुख पाण्डेय

‘बुटवलवासीको दुःख, भोक, रोग, शोक, पीडा सबै हरण गर्ने सामर्थ्य मिलोस्’ : नगरप्रमुख पाण्डेय

Trulli
ADVERTISEMENT

बुटबल । बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका खेलराज पाण्डेय विजयी भएका छन् ।

 

२०२६ साल फागुनमा स्याङ्जाको कालीगण्डकी–२ मा जन्मिएका पाण्डेय पछिल्लो तीन दशकदेखि बुटवलमा सक्रिय राजनीतिमा संलग्न छन् ।

२०३९ सालमा स्याङ्जाकै आदर्श माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको सदस्य भएपछि राजनीतिक यात्रा सुरु गरेका पाण्डेय रुपन्देहीमा २०५२ सालमा नेविसंघ सचिव, २०५९ मा तरुण दल रुपन्देहीको अध्यक्ष हुँदै २०६० सालमा तरुण दल केन्द्रीय सदस्य सम्म भए ।

२०६७ सालमा नेपाली काँग्रेस बुटवल नगर सभापति निर्वाचित भएका पाण्डेय गत मंसिरमा सम्पन्न काँग्रेसको महाधिवेशनबाट पुनः दोहोरिएका थिए ।

 

प्रस्तुत छ, बुटवल उपमहानगरपालिकाका मेयर (प्रमुख) पदमा निर्वाचित खेलराज पाण्डेयसँग पालिका खबर लुम्बिनी प्रदेश प्रतिनिधि चन्द्रकान्त खनालले गरेको कुराकानीको सम्पादित अंश :

 

बुटवलको मेयरमा भारी मताअन्तरले जित हासिल त भयो, तत्काल के के योजना छन् ?

 

मलाई मत दिएर विजयी बनाउनुहुने बुटवलका सम्पूर्ण नगरवासीलाई धेरै धेरै धन्यवाद र बधाई भन्न चाहन्छु । यो जित मेरो मात्रै जित होइन, मलाई मत दिने र नदिने सम्पूर्ण बुटवलवासीको जित हो । बुटवलको विकास, समृद्धिका लागि बुटवलवासीले विश्वास गरेर मलाई उपमहानगरपालिकामा पठाउनुभएको छ, त्यसलाई मैले पाँच वर्षसम्म कार्ययोजना बनाएर मूर्त रूप दिनेछु ।

 

नगरको शासक होइन, सेवक बनेका काम गरेको नगरवासीले अनुभूत गर्नुहुनेछ । यसअघि जनप्रतिनिधि नहुँदा पनि नगरवासीका समस्या समाधानका खातिर पहल गरिरहेको थिएँ, त्यो देख्नुभएका नगरवासीले मलाई काम गर्न पठाउनुभएको हो । नागरिकका आवश्यकतालाई उचित प्राथमिकीकरण गर्दै अगाडि बढ्नेछु । 

 

नेपाली कांग्रेसबाट जितेपछि घोषणापत्र पनि आफ्नै कार्यान्वयन त गर्नुहुने होला होइन ?

 

नगरपालिकाको कार्यालयलाई कुनै एउटा दल विशेष या गठबन्धन विशेषको कार्यालय बनाउने छैन । सबैको साझा फुलबारी बनाउनका लागि मेरो भूमिका रहनेछ ।

 

मेरो मात्र होइन, अन्य दलका सार्थीहरुले घोषणापत्रमा समेट्नु भएका राम्रा विषयलाई पनि उत्तिकै प्राथमिकता दिएर अगाडि बढ्नेछु । ती योजनाहरू सम्पन्न गर्न स्थानीय सरकारसँगको स्रोतले मात्रै पर्याप्त नहोलान्, त्यसैले प्रदेश र संघीय सरकारसँग सहकार्य, समन्वय गरेर अगाडि बढ्नेछु । 

 

उसो भए अब बुटवल कस्तो हुन्छ ? 

सुरुमा त मैले बुटवललाई सबै नागरिकको, सबै दलको साझा बुटवल बनाउने हो । एकले अर्काको विरोध गर्ने परिपाटीले विकासमा बाधा पुग्ने कुरा बुटवलवासीले राम्रोसँग बुझ्नुभएको छ । पहिले त कार्यालयलाई नै निडर र निर्भीकताका साथ नगरवासी आउनसक्ने वातावरण बनाउनुछ । कार्यालयको गेटभित्र पस्दै गर्दा नागरिकलाई अपनत्व अनुभूत हुनुपर्दछ । दलहरूलाई पनि अपनत्वको महसुस गराउन मिलन केन्द्र बनाउनेछु ।

 

वीपी कोइराला, पुष्पलाल, बुटवलका पूर्व मेयर स्वर्गीय सूर्यप्रसाद प्रधानको शालिक बनाउने छु । पूर्व मेयर, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, संघसंस्थाका प्रतिनिधिहरू आउने, सुझाव लिने–दिने थलो बनाउने छु ।

 

विकासका हिसाबले मैले यसअघि जनतामाझ पुगेर भन्दै आएका कुराहरू चरणबद्ध रूपमा पूरा गर्दै जानेछौँ । बुटवलको मुख्य समस्या राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको समस्या समाधान गर्नेछौँ । ज्योतिनगरको पहिरोबाट समस्या भोगिरहेका बासिन्दाको समस्या समाधान गर्नेछौँ । 

 

तिनाउ–दानव करिडोरमा पर्ने बासिन्दाको समस्या पहिल्याएर जनताको पक्षमा हुनेगरी समाधान गर्नेछौँ । मोतीपूर औद्योगिक क्षेत्रमा स्थानीयको माग पूरा हुने गरी औद्योगिक क्षेत्रको काम अघि बढाउन भूमिका निर्वाह गर्नेछौँ । सुकुम्बासी र अव्यवस्थित बसोबासलाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान खोजिनेछ । यसबारे मैले त्यहाँका जनतासँग जे भनेको छु, त्यसैअनुसार गर्नेछु । बुटवलको खानेपानी समस्या समाधानका लागि झुम्साको पानी ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु र वडास्तरमा भूमिगत श्रोतबाट पानी निकालेर स्वच्छ खानेपानी वितरण हुनेछ ।

 

फोहोरमैला व्यवस्थापनमा दीर्घकालीन समाधानको योजना छ । त्यसलाई पूरा गर्नेछु । घोषणापत्रमा भनेका कामहरूलाई चरणबद्ध रूपमा पूरा गर्न म प्रतिबद्ध छु ।

 

साना व्यवसायी, हाटबजार व्यवसायीलगायतको करमा छुट दिने, अझ घटाउने योजना कार्यान्वयन कहिलेदेखि हुन्छ ? 

 

व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिँदै आएको घरबहाल कर, ई–रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवं सिफारिस शुल्क घटाउने काम तत्काल अघि बढ्छ । घरेलु फोहोर संकलन बापत लिइँदै आएको दस्तुर घटाइनेछ ।

 

घोषणापत्रमा पनि हामीले भनेका थियौँ, त्यसअनुसारका काम अघि बढ्छन् । केही तत्काल गर्न सकिने कामहरू छन् भने केही कामहरू चरणबद्ध रूपमा गर्दै जाने खालका छन् । ती कामलाई त्यसरी नै अघि बढाइनेछ ।

 

भर्खरै निर्वाचित भएकाले अन्य व्यस्तता धेरै होलान्, कुरा टुंग्याऔँ ? फेरि पछि पालिका खबरलाई समय दिनुहोला । 

 

म खुला किताब जस्तै बन्न चाहन्छु । मलाई क्लिष्ट नबनाईदिनुहोला । सोधिरहनुहोला । घोचिरहनुहोला । म बुटवलबासीलाई पनि खुलेर भन्न चाहन्छु, तपाइँको प्रतिनिधि बुटवलको प्रमुख बनेको छ । बुटवल छोडेर अन्यत्र बसिरहनुभएका नगरवासीलाई बुटवलमै फर्किन अनुरोध गर्छु । आउनुहोस्, सँगै मिलेर बुटवललाई नमुना शहर बनाऔँ ।

 

त्यसका लागि मलाई पाँच वर्ष साथ दिनुस् । माया गर्नुस्, सुझाव दिनुस् । गल्ती गर्न लागे सजग बनाउनूस् । बुटवलले क्षमता भएका व्यक्तिलाई कदर गर्छ र अरू धेरै क्षमतावान् व्यक्ति उत्पादन गर्छ । त्यसका लागि म अगुवाई गर्छु, मिलेर बुटवल बनाऊँ । मेरो सोचलाई कार्यान्वयन गर्ने मौका दिने बुटवलबासीलाई बधाई दिन चाहन्छु । मेरा बुटवलवासीको दुःख, भोक, रोग, शोक, पीडा सबै हरण गर्ने सामर्थ्य मिलोस् । धन्यवाद ।