close

बुटवलको मेयर पदमा काँग्रेसका खेलराज पाण्डेय विजयी,  उपमेयरमा एमाले

बुटवलको मेयर पदमा काँग्रेसका खेलराज पाण्डेय विजयी,  उपमेयरमा एमाले

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकामा नेकपा एमालेको विरासत तोड्दै नेपाली काँग्रेसका नगरसभापतिसमेत रहेका खेलराज पाण्डेय विजयी भएका छन् । 

 

१९ वटा वडा रहेको बुटवल उपमहानगरपालिकामा १२ वटा वडासहित मेयरमा नेपाली काँग्रेसले जितेको हो ।

 

२०४९ सालको निर्वाचनमा काँग्रेसबाट स्वर्गीय सुर्यप्रसाद प्रधान बुटवलको मेयरमा निर्वाचित भएका थिए । त्यसयता बुटवलमा काँगेसले जित्न सकेको थिएन । अघिल्लो निर्वाचनमा पनि पाण्डेयलाई २ हजार ३ सय मत अन्तरले पराजित गर्दै बुटवलको मेयरमा एमालेका शिवराज सुवेदी निर्वाचित भएका थिए । 

 

पाँच दलीय गठबन्धनको तर्फबाट बुटवल उपमहानगरपालिकाको मेयर पदका उम्मेद्वार पाण्डेय ७ हजार ५३३ मतको अन्तरसहित निर्वाचित भएका हुन् । 

 

बुटवलको मेयरमा निर्वाचित पाण्डेयले ३० हजार १३० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार भट्टराईले २२ हजार ५९७ मत प्राप्त गरेकी छन् । त्यस्तै, राप्रपाबाट मेयर पदका उम्मेदवार मृगेन्द्र शेरचनले चार हजार २९७ मत प्राप्त गरे । 
 

त्यस्तै, उपमेयरमा भने गठबन्धनका उम्मेदवार चिनबहादुर गुरुङलाई पछि पार्दै एमाले उम्मेदवार सावित्रा अर्याल विजयी भएकी छन् । 
उपमेयरमा निर्वाचित अर्यालले २४ हजार ९०४ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार गुरुङले १६ हजार ९८० मत प्राप्त गरेकी छन् । 

 

उपमेयरमा राप्रपाकी उम्मेदवार भगवती पाण्डेले ६ हजार ५२९ मत प्राप्त गरे । 
 

१९ वडा रहेको बुटवलमा ११ वटा वडा काँग्रेसले जितेको छ भने ५ वटा वडा एमालेले जितेको छ । बुटवलमा माओवादी केन्द्रले १, नेकपा एकीकृत समाजवादीले १ र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् । वडा नं. ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ काँग्रेसले जितेको हो । जसमा ४ को अध्यक्षमा नरिशवर शर्मा, ५ को अध्यक्षमा हरिप्रसाद श्रेष्ठ, ६ मा लोकनाथ न्यौपाने, ७ मा पदमराज गाहा, ८ मा यज्ञप्रसाद पंगेनी, ९ मा प्रदिपकुमार श्रेष्ठ, १२ मा डिल्लीप्रसाद शर्मा उपाध्याय, १३ मा नारायणप्रसाद पुन, १५ मा शिव राना, १६ मा कृष्णप्रसाद पौडेल र १७ मा ज्ञानबहादुर रेश्मी विजयी भए । 
 

 

त्यस्तै, एमालेले १०, ११, १४, १८ र १९ वडा जितेको छ । एमालेले जितेको वडा नं. १० को अध्यक्षमा बलबहादुर पुन, ११ को अध्यक्षमा रामचन्द्र क्षेत्री, १४ मा दधिराम न्यौपाने, १८ मा गुरुप्रसाद पंगेनी र वडा नं. १९ को अध्यक्षमा चन्द्रसिंह थापा मगर निर्वाचित भए । 
 

 

वडा नं. १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी हुनुभएको छ । उहाँले काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । वडा नं. २ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य र वडा नं. ३ मा पनि गठबन्धनबाट माओवादी केन्द्रका विष्णु ढकाल विजयी भएका छन् । ढकाल रुख चिन्हबाट निर्वाचित भएका हुन् । 
 

को हुन् खेलराज पाण्डे ? 
 

५ फागुन २०२६ मा बुबा लीलावल्लभ पाण्डे र आमा तारादेवी पाण्डेको कोखबाट स्याङ्जाको साविक आलमदेवी २ (हाल कालीगण्डकी– २) मा जन्मिएका पाण्डे हाल बुटवल उपमहानगरपालिका– ६ का बासिन्दा हुन् । 

 

१३ वर्षको उमेरमै २०३८ सालमा बुटवलमा झरेका पाण्डेले पार्टी राजनीति बुटवलबाटै सुरु गरे पनि विद्यार्थी संगठनमा आबद्ध भई स्याङ्जाबाट आफ्नो  राजनीतिक यात्रा सुरु गरेका हुन् ।
 

आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभीटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए ।
 

त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव बनेका हुन् ।
 

विद्यार्थी राजनीतिपछि तरुण दलमा आबद्ध पाण्डे २०५९ सालमा नेपाल तरुण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए । 
 

२०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर पार्टी र सामाजिक काममा क्रियाशील छन् ।
 

बिहानैदेखि साँझ अबेरसम्म पार्टी र सामाजिक काममा व्यस्त रहने पाण्डे बुटवलका हरेक वडा र तल्लो टोल कमिटीसम्म परिचित व्यक्ति हुन् ।
 

नगरपालिकालाई साझा चौतारीको रुपमा विकास गर्ने बुटवलका नवनिर्वाचित मेयर पाण्डेयको प्रतिबद्धता
 

बुटवल उपमहानगरपालिकाको मेयरमा निर्वाचित खेलराज पाण्डेयले बुटवल नगरपालिकालाई साझा चौतारीको रुपमा विकास गर्ने बताएका छन् । 
 

उनले आफूलाई बुटवलको मेयरमा निर्वाचित गराएकोमा बुटवलका मतदाताप्रति आधार व्यक्त गर्दै जनताको साथ र भरोसाको सम्मान गर्ने प्रतिवद्धता व्यक्त गरे । 

 

मेयर पदमा निर्वाचित भएपछि आप्mना योजनोबारे संक्षिप्त कुराकानी गर्दै मतदाता र आफूलाई विजयीको नाममो लागि भूमिका खेल्ने सबैलाई धन्यवाद दिए । 
 

नवनिर्वाचित मेयर पाण्डेयले बुटवल नगरपालिका भित्रै सबै राजनीतिक दल र संघसंस्थाहरुको लागि छुट्टै कक्ष निर्माण गर्ने बताए ।