close

बुटवल उपमहानगरमा पाण्डेले लिए पाँच हजार मतान्तरसहित अग्रता 

बुटवल उपमहानगरमा पाण्डेले लिए पाँच हजार मतान्तरसहित अग्रता 

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकाको मेयर पदमा कांग्रेस उम्मेद्वार खेलराज पाण्डेले पाँच हजारभन्दा बढी मतको फराकिलो अग्रता कायम गरेका छन् ।

 

बुधबार मध्यान्नसम्म प्राप्त मतपरिणामअनुसार एमाले उम्मेद्वार बाबुराम भट्टराईको भन्दा काङ्ग्रेस उम्मेद्वार पाण्डेले पाँच हजार १३ बढी मत ल्याएका छन् । 

 

बुटवल उपमहानगरपालिका १, २, ३, ४, ५, ६, ७, १५, १६, १७, १८ र १९ मा गरी २७ हजार ५५७ मतगणना भइसकेको छ । 

 

जसमा पाँच दलीय गठबन्धनका उम्मेद्वार पाण्डेले १५ हजार ५८९ मत प्राप्त गरेका छन् भने एमाले उम्मेद्वार भट्टराईले १० हजार ५७६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेद्वार मृगेन्द्रकुमार शेरचनले दुई हजार ६४० मत प्राप्त गरेका छन् । उपमेयरमा भने एमाले उम्मेद्वार सावित्रा अर्याल अगाडि छन् । उपमेयरमा अर्यालले ११ हजार ७२५ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले आठ हजार ६४१ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै, बुटवल–१ को अध्यक्षमा स्वतन्त्र उम्मेद्वार नरेन्द्र बस्नेत, २ मा  अध्यक्षमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सुनील शाक्य, वडा नं. ३मा गठबन्धनबाटै माओवादी केन्द्रका विष्णु ढकाल, वडा नं. ४ मा नेपाली कांग्रेसका नरिश्वर शर्मा पौडेल, वडा नं. ५ मा नेपाली कांग्रेसका हरिप्रसाद श्रेष्ठ, वडा नं. ६ मा कांग्रेसका लोकनाथ न्यौपाने, वडा नं. ७ मा कांग्रेसकै पदमराज गाहा निर्वाचित भएका छन् ।

त्यस्तै, वडा नं. १५ को अध्यक्षमा काँग्रेसका शिव राना, वडा नं. १६ मा कांग्रेसका कृष्णप्रसाद पौडेल, वडा नं. १७ कांग्रेसका ज्ञानप्रसाद रेश्मी तथा वडा नं. १८ मा एमालेका गुरुप्रसाद पंगेनी र वडा नं. १९ मा पनि एमालेकै चन्द्रसिंह थापा विजयी भएका छन् ।