close

'गम्भीर बिरामीलाई बचाउन र राष्ट्रको ऋण तिर्न गाँजालाई वैधानिक बनाऔँ'

'गम्भीर बिरामीलाई बचाउन र राष्ट्रको ऋण तिर्न गाँजालाई वैधानिक बनाऔँ'

Trulli
शेरबहादुर तामाङ
ADVERTISEMENT

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले आज संसदमा बोल्दै गाँजालाई वैधानिकता दिन सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै पूर्व मन्त्रीसमेत रहेका सांसद तामाङले गाँजालाई औषधीजन्य कच्चा पदार्थका रुपमा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने दाबी समेत गरेका छन् ।

साथै उनले एचआइभी एड्सका बिरामीलाई लामो समय बचाउन गाँजाबाट बन्ने औषधी लाभदायक रहेको विज्ञानले समेत पुष्टि गरिसकेको हुँदा गाँजालाई अवैध बनाइ राख्न नहुने बताए । गाँजाका गुणहरू बारे बोल्दै उनले नेपालको स्वास्थ्य क्षेत्रको विकास तथा राष्ट्रको ऋण तिर्नका लागि भए पनि गाँजाको उत्पादन र बिक्री वितरण खुला गर्नुपर्ने माग गरे ।

'नेपालमा क्यान्सरजस्तो प्राणघातक रोगले धेरै मान्छे मरिरहेका छन् र जनताहरू ऋणमा डुबी रहेका छन् । उता एचआइभी एड्सको कारण पनि मान्छेको जिउन पाउने अधिकार हनन भइरहेको छ,'  उनले भने, 'एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि नै गाँजा हो । यो रोगका बिरामीहरूलाई तत्काल गाँजाबाट बन्ने औषधीको व्यवस्था गरिएन भने हजारौँ बिरामीले ज्यान गुमाउने खतरा छ ।'

नेपालमा गाँजाबाट बनेको औषधी नपाएर एड्स लागेका व्यक्तिहरू आमरण अनशन बस्ने तयारीमा रहेको जानकारी समेत उनले दिएका छन् ।

'एड्सका बिरामीहरू औषधी नपाएर मर्नुभन्दा अब आमरण अनशन गरेर मर्न तयार भएर बसिरहेका छन्,' उनले जानकारी दिए, 'त्यसैले, गाँजाबाट तयार हुने सीभीडी र  सीभीडीबाट बन्ने औषधीबाट हामी प्राणघातक रोगको उपचार गर्न सक्छौँ । यो विश्वले प्रमाणित गरिसकेको कुरा हो ।'

तत्कालै गाँजालाई औषधीका रूपमा प्रयोग गर्न दिनुपर्ने तामाङको माग छ । त्यसपछि औद्योगिक प्रयोजनका लागि पनि बहस गर्नुपर्ने उनको राय छ ।

'गाँजाको औषधीय गुणलाई व्यवस्थापन गरौँ । गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गरौँ,' तामाङको माग छ, 'गाँजाको अरू औद्योगिक प्रयोजनको बारेमा अन्य फोरममा चर्चा गरौँला ।'

सांसद तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने दाबी समेत गरेका छन् ।

'२ सय लिटरका ४ ड्रम सीभीडी निकाल्ने हो भने त्यही बचेर यो मुलुकका लागि आवश्यक सबै पूर्वाधार निर्माण गर्न सकिन्छ,' उनको दाबी छ,  'त्यति मात्रै होइन कमसेकम एक दुई वर्षमा राष्ट्रको सबै ऋण तिर्न सक्ने अवस्थामा पुग्छौँ ।'

गाँजाबारे आफूले उठाएको विषयलाई गम्भीर रूपमा लिन उनले आग्रह गरेका थिए । सिन्धुपाल्चोकबाट विजयी सांसद तामाङले गाँजालाई वैधानिक बनाउनुपर्ने माग गर्दै यसअघि नै संसदमा गैरसरकारी विधेयक दर्ता गराएका छन् ।