close

जसपा फुट्ने निश्चित, यादव र भट्टाईले गरे सहमति

जसपा फुट्ने निश्चित, यादव र भट्टाईले गरे सहमति

Trulli
ADVERTISEMENT

काठमाडौँ । लामो समयदेखि आन्तरिक विवादमा फसेको जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव मित्रवत् रुपमा सौहार्दपूर्ण तरिकाले छुट्टिन तयार भएपछि सो दल फुट्ने निश्चित भएको हो । 

सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बुधबार यादव र भट्टराईबीच पार्टी विवाद समाधानका विषयमा छलफल भएको थियो । सो छलफलमा भट्टराईले आफूहरू बिच विचार र सिद्धान्त मिल्ने भए पनि कार्यकर्ताहरू एकअर्कासँग घुल्न नसकेकाले सहमतिकै आधारमा छुट्टिने प्रस्ताव राखेका थिए । भट्टराईको प्रस्ताव यादवले समेत स्वीकार गरेको जसपाका एक नेताले पालिका खबरलाई बताए ।

जसपाका एक नेताका अनुसार एकले अर्कालाई कारबाही नगरी सहमतिकै आधारमा सौहार्दपूर्ण तरिकाले छुट्टिने सहमति भएको तथा एकले अर्कालाई गद्दार र विभाजनकारीको आरोप नलगाउने तथा भविष्यमा सहमति गरेर अगाडि बढ्न सकिने सम्भावनालाई समेत जिवित राखेका छन् । ती नेताका अनुसार दुई अध्यक्ष सांसदहरूलाई समेत पार्टी रोज्न दिने कुरामा सहमत भएका छन्।

पछिल्लो समय पार्टीका सबै निर्णयमा यादवले एकलौटी गरेको आरोप भट्टराईको थियो । उनले पार्टीको विधानअनुसार अर्को अध्यक्ष चयन गर्न माग समेत गरेका थिए । त्यसका लागि यादव तयार भएनन् । गत वर्ष भदौमा जसपा विभाजन भएर महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि ठाकुरको पद जसपामा खालि थियो । यादवमाथि भट्टराईले दबाब बढाउँदै जाँदा उनी झन्डै बहुमतनजिक पुगेका थिए । तर यादवलाई हटाउन नसके विभाजनका लागि समेत तयार हुनुपर्ने भट्टराईले प्रस्ताव गरेपछि उनलाई साथ दिएका धेरै नेताहरू पछि हटेको स्रोतको दाबी छ। 

यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भएको थियो । एकता भएपछि संघीय समाजवादी पार्टी बनेको थियो। संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भएर जसपा बनेको थियो ।

भट्टराई निकट स्रोतका अनुसार जसपाबाट अलगिएपछि विभिन्न दल बिच कार्यगत एकता गरेर आगामी निर्वाचनमा जाने सोच उनको छ ।