close

एसपिपीसम्बन्धी सबै कागजपत्र संसद्मा पठाउन नेम्वाङको आग्रह

एसपिपीसम्बन्धी सबै कागजपत्र संसद्मा पठाउन नेम्वाङको आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्रामका लागि भएका सबै पत्र संसदमा प्रस्तुत गर्न आग्रह गरेका छन् । 

बिहीबार संसद भवन बानेश्वरमा पूर्व सांसद मञ्चले ६४ औं संसद सेवा दिवसका दिन गरेको कार्यक्रममा बोल्दै नेम्वाङले यस्तो बताएका हुन् । 

गठबन्धनका नेता तथा माओवादीका अध्यक्ष प्रचण्डले बारम्बार एसपिपी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीका पालामा भएको भनी दोहोर्‍याइरहेका बेलामा नेम्वाङले प्रधानमन्त्री देउवासँग यस्तो आग्रह गरेका हुन् । 

यस्तै, केपी शर्मा ओलीले एसपिपीमा हस्ताक्षर आफ्नो पालामा नभएको भनी दाबी गर्दै आएका छन् । 

उनले एसपिपीमा गरेको हस्ताक्षर सम्बन्धबारे सार्वजनिक भएको पत्रमा टिपेक्स लगाएर हातले मिति सच्याएको आरोप ओलीले लगाउँदै अमेरिकी राजदूतावासलाई पनि मुख खोल्न आग्रह गरेका छन् । 

यस्तै, नेम्वाङले  संसदमा प्रतिपक्षी दलले उठाएको कुरा सरकारले बेवास्ता गरेको आरोप लगाए । अर्थमन्त्रीले बजेट ल्याउने अघिल्लो दिन बाहिरी मान्छे अर्थमन्त्रालय लगेर करको दर परिवर्तन गरेको समाचार बाहिरिएपछि प्रतिपक्षी दलले सिसी टिभी हेर्न माग गरेको बताए ।

अर्थमन्त्रीले संसदमा त्यस्तो भएको हैन भनेर छुट नपाउने बताउँदै सरकार आफैंले त्यो दिनको फुटेजमा यस्तो देखियो वा यस्तो देखिएन भनेर सार्वजनिक गर्नुपर्ने बताए । नेम्वाङले संसद विघटन र अवरोधका  बारेमा आफूभन्दा अगाडि बोलेका नेता झलनाथ खनाललाई जवाफ दिँदै विगतमा पनि कसले कसरी संसद अवरोध भएको थियो त्यसको इतिहास हेर्न आग्रह गरे । 

उनले सरकारले बेला बेलामा प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल गरेर सुझाव लिनुपर्ने बताए । उनले सरकारले प्रधानन्यायाधीश माथि महाभियोग अलपत्र पारेको बताए। प्रतिपक्षी दलले अब महाभियोगमाथि छलफल होला भन्ने सोचेका बेला सरकारले मध्यरातमा हिउँदे अधिवेशन अन्त्य गरेको बताए । 

उनले राजनीतिक दलहरूले देश र जनताका लागि  कति बुद्धि विवेक प्रयोग गर्न सक्यौं त्यसबारेमा छलफल गर्न आवश्यक रहेको बताए ।