close

एमालेको सरकार बनाउने तयारी गरौँ : ओली

एमालेको सरकार बनाउने तयारी गरौँ : ओली

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावबाट फेरि एमाले सरकारमा फर्काउनु पर्ने धारणा अघि सारेका छन् । बुधबार बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले त्यसको तयारी गर्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् ।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकारले समृद्धिको लय समातिसकेको देशलाई पंगु बनाएको धारणा समेत व्यक्त गरेका छन् । उनले सम्बोधनका क्रममा भने, ‘देशले समृद्धि र विकासको जुन लय समातेको थियो, त्यही लयलाई फेरि प्राप्त गर्ने र अगाडि बढाउने, बाटोमा लैजान सक्ने सरकारको गठन आगामी निर्वाचनबाट गर्नुपर्ने छ । यी उद्देश्य प्राप्त गर्न हामी नै अगाडि बढ्नुपर्ने छ ।’

उनले सरकारलाई आगामी मंसिरमा चुनाव गराउन दबाब दिँदै यसबीचमा भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष गर्नुपर्ने र जनतालाई सरकारले दिएका पीडाबाट मुक्त गर्नुपर्ने बताए ।

राष्ट्रियता, विकास, सुशासनलाई उपयुक्त ढंगले लैजान एमालेको सरकारले मात्र सक्ने ओलीको दाबी छ । उनले एमाले जस्तो पार्टीले मात्रै राष्ट्रियता, जननजीविका, सुशासनका प्रश्नलाई सम्बोधन गर्न सक्ने दाबी समेत गरे । साथै बाह्य सम्बन्धलाई पनि सन्तुलित र उपयुक्त ढंगबाट बढाएर राष्ट्रिय हितको रक्षा, सम्बर्धन गर्न समेत एमालेकै सरकार आवश्यक रहेको बताए ।

उनले संवैधानिक व्यवस्था अनुसार आगामी मंसिरमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुनैपर्ने बताउँदै सरकार विभिन्न बहाना बनाएर निर्वाचनको मिति पछि सार्ने प्रयासमा रहेको दाबी समेत गरे ।