close

भीमसेन थापा राष्ट्रवादी व्यक्तित्व : प्रधानमन्त्री देउवा

भीमसेन थापा राष्ट्रवादी व्यक्तित्व : प्रधानमन्त्री देउवा

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापाले जीवनमा गरेका कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित भएको बताएका छन् । 

राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको भीमसेन थापा स्मृति पुरस्कार वितरण समारोहमा उनले स्वाभिमानी थापाले पुर्‍याएका योगदानको स्मरण गरे । 

“थापाले महत्त्वपूर्ण आर्थिक सुधारको काम गर्नुभएको छ, उहाँले मानापाथी व्यवस्थित गरेर नापतौलको मापन गर्नुभयो, चिट्ठीपत्र ओसारपसारका लागि पनि काम गर्नुभएको छ” प्रधानमन्त्री देउवाले भने । 

महत्त्वपूर्ण कागजात एवं चीजबीजको अभिलेख राख्ने काम पनि भीमसेन थापाकै पालामा सुरु भएको उल्लेख गर्दै उनले स्वतन्त्र देश नेपालको रक्षाका लागि गरेको योगदानको चर्चा गरे  ।

प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमल्सिनाले थापाको नासोका रुपमा रहेको लगनटोलस्थित सिलखाना पुरानै स्वरुपमा पुनःनिर्मााणको व्यवस्था मिलाइदिन प्रधानमन्त्री देउवासँग माग गरे । 

कार्यक्रममा एक लाख राशिको भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो । पुरस्कार ग्रहण गर्नुहुँदै प्रतिष्ठानका अध्यक्ष रोवबहादुर थापाले भक्ति थापाका विषयमा अध्ययन अनुसन्धानका लागि पुरस्कारबाट प्राप्त रकमलाई सदुपयोग गरिने प्रतिबद्धता जनाए ।