close

एसपिपीमा सहभागी नहुनेबारे नेपालले अमेरिकालाई पत्राचार गरिसक्यो : परराष्ट्रमन्त्री खड्का

एसपिपीमा सहभागी नहुनेबारे नेपालले अमेरिकालाई पत्राचार गरिसक्यो : परराष्ट्रमन्त्री खड्का

Trulli
ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सरकारबाट प्रस्तावित ‘स्टेट पार्टनसीप प्रोग्राम’मा सहभागी नहुने नेपाल सरकारको निर्णय अमेरिकालाई पत्राचार भइसकेको जानकारी दिएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा उनले एसपिपी अगाडि नबढाउने र सो जानकारी अमेरिकी सरकारलाई गराउने मन्त्रिपरिषद्को निर्णयलाई परराष्ट्र मन्त्रालयले कार्यान्वयन गरिसकेको छ भने । 

“नेपालले एसपिपीलाई अगाडि नबढाउने निर्णय गरेको लिखित दस्तावेज कूटनीतिक माध्यमबाट यही साउन ९ गते अमेरिकी सरकारसमक्ष पठाइएको छ”, उनले भने । सो सम्बन्धमा आन्तरिक परामर्श आवश्यक भएकाले पत्राचारका लागि केही समय लागेको उनले प्रष्ट्याए । सरकारले गत असार ६ गते एसपिपीमा सहभागी नहुने र सोको जानकारी अमेरिकी सरकारलाई पठाउने निर्णय गरेको थियो ।

“मित्रराष्ट्रसँग आगामी दिनमा पनि सहकार्यका लागि विभिन्न निकायका बीचमा गृहकार्य, आन्तरिक संवाद, छलफल आवश्यक भएकाले पत्राचारका लागि केही समय लागेको हो”, मन्त्री खड्काले भने । एसपिपीका सम्बन्धमा नेपाल सरकारले गरेको निर्णयबारे अमेरिकासँग कूटनीतिक माध्यमबाट जानकारी गराइसकिएको उनले सदनलाई जानकारी गराए । 

“यस सम्बन्धमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट नै छ, नेपाल सरकार सार्वभौमसत्ता सम्पन्न राष्ट्रको कार्यपालिकाको सर्वोच्च निकायले गरेको निर्णयप्रति संशय व्यक्त गर्नु अस्वभाविक हुन्छ”, उनले भने । एसपिपीका सम्बन्धमा अमेरिकालाई पत्राचार गर्न ढिलाइ भएको विषयमा आवाज उठाउने सांसदप्रति उनले आभार प्रकट गरे । 

वर्तमान गठबन्धन सरकारले संवैधानिक व्यवस्था, संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुनअनुसार विशेष आन्तरिक नीति सञ्चालन गर्दै आएको र त्यसका लागि सरकार सक्षम रहेको मन्त्री खड्काले बताए ।