close

दोब्बरले वृद्धि धनगढी उपमहानगरको सेवा दस्तुर

दोब्बरले वृद्धि धनगढी उपमहानगरको सेवा दस्तुर

Trulli
ADVERTISEMENT

धनगढी । धनगढी उपमहानगरपालिकाले विभिन्न सेवा दस्तुरमा वृद्धि गरेको छ ।

उपमहानगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा पशु सेवातर्फको सेवा दस्तुरमा झण्डै दोब्बर वृद्धि गरेको छ ।

उपमहानगरपालिकाको गत असार २० गते पारित आर्थिक ऐनमा चालू आर्थिक वर्ष २०७९/०८० मा व्यक्तिगत घटना दर्ता, प्रतिलिपि, पशु सेवातर्फको बन्ध्याकरण, कृत्रिम गर्भधारण, गर्भ परीक्षण, पशुपक्षीं  दर्ता, र पशुपक्षीको शव परीक्षणमा शुल्क वृद्धि गरिएको छ । 

उपमहानगरपालिकाले भर्खरै सार्वजनिक गरेको आर्थिक ऐनमा व्यक्तिगत घटना दर्ता ३५ दिनभित्र गराएमा निःशुल्क हुने उल्लेख छ । गत वर्ष एक सय रुपैयाँ रहेको व्यक्तिगत घटना दर्ता दस्तुरमा यस वर्ष दोब्बर वृद्धि गरिएको छ । उपमहानगरपालिकाको आर्थिक ऐन, २०७९ मा व्यक्तिगत घटना दर्ता ३५ दिनभन्दा माथि भएमा दुई सय रुपैयाँ दस्तुर कायम गरिएको छ । 

त्यस्तै, सो को प्रतिलिपिमा उच्च दस्तुर तोकिएको छ । व्यक्तिगत घटना दर्ताको प्रतिलिपि लिँदा पाँच सय रुपैयाँ दस्तुर कायम गरिएको छ ।

उपमहानगरपालिकाले अंगिकृत नागरिकता सिफारिसमा दश हजार रुपैयाँ र वैवाहिक अंगिकृत नागरिकता सिफारिसमा एक हजार रुपैयाँ दस्तुर कायम गरेको छ । त्यस्तै, नाबालक सिफारिसका लागि एक सय रुपैयाँ दस्तुर तोकिएको छ भने खानेपानीको धारा जडान, विद्युत् मिटर तथा अन्य सिफारिसमा दुई सय रुपैयाँ दस्तुर कायमा गरिएको छ ।

उपमहानगरपालिकाले पशु सेवातर्फका विभिन्न सेवामा निकै दस्तुर बढाएको छ । उपमहानगरपालिकाले पशु बन्ध्याकरण गराउँदा ५० रुपैयाँ दस्तुर तिर्नुपर्ने तोकेको छ । गत आर्थिक वर्षमा सो सेवामा १५ रुपैयाँ दस्तुर कायम गरिएको थियो । 

त्यस्तै, कृषकहरूले पशुको कृत्रिम गर्भाधान गराउँदा एक सय रुपैयाँ, गर्भ परीक्षण गराउँदा ५० रुपैयाँ दस्तुर तिर्नुपर्ने भएको छ । यसअघि कृत्रिम गर्भाधानमा २५ रुपैयाँ र गर्भ परीक्षणमा १० रुपैयाँ दस्तुर कायम गरिएको थियो । 

त्यस्तै, उपमहानगरपालिकाले पशुपक्षी उपचार सेवामा नाम दर्ता गराउँदा पनि शुल्क दोब्बरले वृद्धि गरेको छ । अबदेखि गाईभैँसी उपचार सेवा दर्ता गराउन २० रुपैयाँ, भेडा बाख्रा, कुखुरा हाँसमा १० रुपैयाँ, कुकुर र बिरालोमा ३०, हात्ती, घोडा खच्चर र अन्य जन्तुमा एक सय, र पशुक्षीं गोवर परीक्षणका लागि २० रुपैयाँ शुल्क कायम गरेको छ ।

त्यस्तै, पशुपक्षीं शव परीक्षणमा कुकुर र बिरालोबाहेक अन्य पशुमा दोब्बरले रकम वृद्धि गरेको छ । अबदेखि उपमहानगरपालिकाभित्रका कृषकले गाई भैँसी, भेडा बाख्राको शव परीक्षण गर्दा ५०  र कुखुरा हाँसको शव परीक्षण गराउँदा २० रुपैयाँ शुल्क तिर्नुपर्ने भएकोे छ ।

उपमहानगरपालिकाले क्षेत्रभित्र लगाउनसक्ने बहाल विटौरी करको दर पनि कायम गरेको छ । उपमहानगरपालिकाले घुम्ती पसल, खुम्चासमेत, चौपाया प्रतिगोटा, साग, सब्जी र फलफूल पसल, भुँइमा दलहनका साथै अन्य मालसामान बेच्ने, अस्थायी प्रकृतिका खोका, नपाबाट इजाजत नलिएकाहरू तथा अन्यबाट दैनिक २० रुपैयाँ र हाँस, कुखुरालगायत प्रतिगोटा १० रुपैयाँ विटौरी कर तोकेको छ ।

उपमहानगरपालिकाले व्यक्तिगत कामको लागि अमिन खटाएमा प्रति पटक एक हजारका दरले रकम असुल गर्ने र सोको २५ प्रतिशत अमिनलाई उपलब्ध गराउने जनाइएको छ ।

खोला वारपारमा शुल्क

स्थानीय तहमा जननिर्वाचित जनप्रतिनिधि निर्वाचित भएर आएको पहिलो कार्यकाल २०७५ देखि विवादित बन्दै आएको नाउघाट शुल्क दोस्रो कार्यकाल सम्हालेका जनप्रतिनिधिले पनि ०७९÷८० मा कायमै राखेका छन् । 

उपमहानगरपालिकाको आर्थिक ऐनको अनुसूची १२ मा उपमहानगरपालिका क्षेत्रभित्र लगाउनसक्ने नाउघाट शुल्कको दररेट उल्लेख रहेको छ । उपमहानगरपालिकाले प्रतिव्यक्ति २५ रुपैयाँ, प्रतिसाइकल, सामान प्रतिबोरा, प्रति चौपाया १५÷१५ का दरले कायम गरेको छ भने प्रतिमोटरसाइकल ३० रुपैयाँ कायम गरेको छ । यो रकम आर्थिक वर्ष २०७४/७५ देखि नै उपमहानगरपालिकाभित्रको नाउघाटमा लागू भइरहेको छ । यसलाई वर्तमान जनप्रतिनिधिहरूले पनि निरन्तरता दिएको छ ।

अस्पताल दर्ता गर्दा ७५ हजार रुपैयाँ बढी शुल्क

धनगढी उपमहानगरपालिकाले १५ शैय्यासम्मको अस्पतालको दर्ता तथा अनुमति पत्र सिफारिसमा ७५ हजार शुल्क तोकेको छ । धनगढी उपमहानगरपालिकाले २०७७ साल फागुन २१ गते जारी गरेको नगरस्वास्थ्य ऐनमा अस्पताललगायत स्वास्थ्य संस्थाको दर्ता तथा अनुमतिको शुल्क गरेको छैन ।

सोअनुसार नेपाल सरकारले तोकेबमोजिम उपमहानगरपालिकाले शुल्क कायम गर्नुपर्ने हुन्छ । तर, उपमहानगरपालिकाले सोविपरीत शुल्क कायम गरेको छ ।

नेपाल सरकारले अस्पताल तथा स्वास्थ्य नर्सिङ होम स्थापनका लागि प्रतिशैय्या चार हजार र नवीकरणका लागि प्रतिशैय्या पाँच सय कायम गरेको छ । उपमहानगरपालिकाले जारी गरेको आर्थिक ऐनमा स्वास्थ्य सेवा दर्ता तथा अनुमतिपत्र सिफारिसका लागि ७५ हजार रकम कायम गरेको छ ।

नेपाल सरकारले आयुर्वेद अस्पतालको वैकल्पिक चिकित्सामा दुई हजार रकम र आयुर्वेद क्लिनिकको पाँच हजार रकम कायम गरेको छ । उपमहानगरपालिकाले जारी गरेको आर्थिक ऐनमा आयुर्वेद क्लिनिकको दर्ता तथा अनुमतिपत्र दश हजार कायम गरेको छ ।

उपमहानगरपालिकाको आर्थिक ऐनमा अनुसूची ११ को १३ नम्बरमा भनिएको छ –‘स्वास्थ्य क्लिनिक, आयुर्वेद क्लिनिक, होमियोप्याथ, क्लिनिक, फार्मेसी, खुद्रा र यस्तै प्रकारका अन्य क्लिनिकको दर्ता तथा इजाजतपत्र वार्षिक १० हजार कायम गरिएको छ ।’

उपमहानगरपालिकाले फिजियोथेरापी केन्द्र, पुर्नस्थापनाकेन्द्र (मनोसामाजिक), प्राकृतिक उपचार केन्द्र, अकुपंचर, अर्कप्रसर केन्द्र, युनानी उपचार केन्द्र, यो, ध्यान तथा शारीरिक ब्यायामकेन्द्र, परम्परागत सेवा क्लिनिक र यस्तै प्रकारका अन्य क्लिनिक तथा सेवा केन्द्रको दर्ता तथा अनुमतिका लागि दश हजार, जेरियाटिक परामर्शकेन्द्र, ज्येष्ठ नागरिक सेवाकेन्द्र, असहाय सेवा केन्द्रका लागि पाँच हजार र डी र ई वर्गका लागि दश हजार रकम कायम गरेको छ ।