close

स्थानीय निर्वाचन : रुपन्देहीमा ४ हजार ९६० जनाले अझै बुझाएनन् खर्च विवरण

स्थानीय निर्वाचन : रुपन्देहीमा ४ हजार ९६० जनाले अझै बुझाएनन् खर्च विवरण

Trulli
ADVERTISEMENT

रुपन्देही । स्थानीय तह निर्वाचनका लागि फरकफरक रकम तोकिए पनि रुपन्देहीका अधिकांश उम्मेदवारले निर्धारित समयमा निर्वाचन आयोगमा खर्चको विवरण बुझाएका छैनन् । 

निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण आयोगमा पेश गर्नुपर्ने प्रावधान छ । रुपन्देहीमा सबैभन्दा अन्तिममा मत परिणाम तिलोत्तमा नगरपालिकाको जेठ १३ गते घोषणा भएको थियो ।

सोही मितिलाई आधार मान्दा पनि असार १३ गतेभित्र जिल्लाका सबै उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गर्नुपर्ने हो । रुपन्देहीमा रहेका पाँच हजार ११ उम्मेदवारमध्ये ५१ जनाले मात्र निर्धारित समयमा खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । 

रुपन्देहीका प्राय उम्मेदवारले आफूले निर्वाचन आयोगको यो कानूनी व्यवस्थाबारे जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । जिल्ला समन्वय समिति प्रमुख पदमा उम्मेदवार भई विजयीसमेत हुनुभएका उमाकान्त चापाईले उक्त व्यवस्थाबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । 

रुपन्देही मात्र हैन धेरै स्थानीय तहमा निर्वाचन खर्च विवरण पेश नगरेका उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण दिने अधिकांश उम्मेदवारले बिरामी भएका कारण खर्च विवरण बुझाउन नपाएको खुलाएका छन् । 

एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानिय तह रहेको रुपन्देहीमा पराजित र विजयीसमेत गरी पाँच हजार ११ जनाले उम्मदवारी दिएका थिए । खर्च विवरण विजयीले मात्र नभई पराजय भएका उम्मेदवारले पनि बुझाउनुपर्ने व्यवस्था छ ।