close

धनुषाका स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन सुरु

धनुषाका स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि धनुषाको स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको छ ।

बुधबारदेखि क्षीरेश्वरनाथ नगरपालिकाबाट विवरण सङ्कलन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत कन्हैया मिश्राले जानकारी दिए । मिश्राले सेवाग्राहीलाई सहज हुने हिसाबले टोकन वितरण गरेर सोहीअनुसार आवश्यक विवरण जुटाउने काम भइरहेको बताए ।

जिल्लाको १६ वटा स्थानीय तहबाट विवरण सङ्कलन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । 

उनले  जिल्लाका १८ स्थानीय तहमध्ये १६ वटामा विवरण सङ्कलन कार्य सुरु गरिएको जानकारी दिए । ‘बाँकी स्थानीय तहमा छिट्टै व्यवस्थापन गरिने छ । उपकरणमा समस्या देखिएकाले रोकिएको हो, दुरुस्त हुने बितिक्कै पठाउँछौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने । 

स्थानीय तहसँग समन्वय गरी सबैलाई पायक पर्ने स्थानमा केन्द्र स्थापना गरेर कम्प्युटरलगायत उपकरणसहित तत्काललाई एक–एक कर्मचारी खटाइएको छ ।

सो स्थानबाट फारम भर्ने भौचर बुझ्ने कार्य भइरहेको छ । इपासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र सरकारबाट प्राप्त हुने अन्य सेवा यसकै आधारमा प्रवाह गर्ने लक्ष्यबमोजिम स्थानीय तहबाट विवरण सङ्कलन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।