close

प्रतिनिधिसभाको अन्तिम दिन : शीर्ष दलका शीर्ष नेताले गरे ओलीको आलोचना

प्रतिनिधिसभाको अन्तिम दिन : शीर्ष दलका शीर्ष नेताले गरे ओलीको आलोचना

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिन दलहरूबीच एकापसमा शुभकामना दिएर छुट्टिनुको सट्टा दलहरूबीच एकापसमा घोचपेच भएको छ । 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घोचपेच सुरु गरेपछि  मुख्यतयाः ठुला दलले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली केन्द्रित भएर अभिव्यक्ति दिए । तर, प्रतिनिधिसभाको अन्तिम दिन भनेर केपी शर्मा ओलीले पनि बाँकी भने राखेनन् । 

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई लक्षित गरे प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकार परमादेश नभएको भन्दै परमादेश सरकार भएको भए अहिले सँगै काम गर्ने मौका नमिल्ने बताए । ‘ हुन त हाम्रो प्रतिपक्षी दलका नेता परमादेशको सरकार भन्नुहुन्छ, यो संसद् नै परमादेशबाट आएको हो । जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौँ,’ उनले भने,  ‘परमादेश नभएको भए उहाँ हामी सँगसँगै काम गर्न पाउँदैनथियौँ, धेरै ठुलठुला विधेयक पास गर्न पाउँदैनथ्यौँ ।’

त्यसपछि संसदलाई संबोधन गरेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्माले अहिलेको सरकारले निर्वाचन जानुलाई प्रतिगमन भनेको भनी गुनासो गरे । 

उनले संसद् विघटनसँग जोड्दै जनादेश संसद् नचलेपछि आफूले ताजा जनादेशमा जान खोजेको भन्दै ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्न नहुने भन्दै आफ्नो कदमको बचाउ गरे । सो क्रममा उनले अहिले निर्वाचनमा जानु भनेको के प्रतिगमन हो र भन्दै प्रतिप्रश्न गर्दै भने, ‘ म यसलाई प्रतिगमन भन्दिनँ । असंवैधानिक ढंगले परमादेशबाट नक्कली सरकार गठन गर्नु प्रतिगमन हो । निर्वाचनमा जाने कुरा प्रतिगमन होइन, पहिले पनि होइन, अहिले पनि होइन ।’

यस्तै, नेकपा एमालेका अध्यक्ष पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदलाई संबोधन गरेका थिए । सो क्रममा उनी प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको आलोचनामा उत्रिए । उनले निर्वाचनमा जानुलाई विरोध गरेको भन्दै भ्रम फैलाएको भनी ओलीको आलोचना गर्दै भने, ‘ तुलना  गर्नुको पनि एउटा हद हुन्छ  नि ! यहाँ बसेका हामी सबै केही नबुझ्ने छन् भन्ने ठान्नुभएको हो कि प्रतिपक्ष दलको नेता ? नेपाली जनताले केही जान्दैनन्, भेडा नै छन् भन्ने ठान्नु भएको हो कि । 

ओलीले निर्वाचन गर्न नभई देशलाई अँध्यारोतिर सुरुङतिर लैजान प्रतिनिधिसभाको विघटन गरेको प्रचण्डले बताए । 

यस्तै, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई टाउकोमा हिउँ राखेर सोच्न सुझाव दिए । साथै उनले गठबन्धन अभ्यास अब लामो समय चल्ने बताए । 

यस्तै, बाबुराम भट्टराई र जनमोर्चाकी नेतृ दुर्गा पौडेलले पनि ओलीप्रति कटाक्ष गरे ।