close

मेयरमा सफल घिमिरे : सांसदको टिकटमा किन पत्याएन पार्टीले ?

मेयरमा सफल घिमिरे : सांसदको टिकटमा किन पत्याएन पार्टीले ?

Trulli
ADVERTISEMENT

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने क्रममा रुपन्देही–५ मा रोचक अवस्था सिर्जना भएको छ ।

तिलोत्तमा नगरपालिकाका पूर्व प्रमुख बासु घिमिरेलाई नेकपा एमालेले प्रतिनिधि सभामा रुपन्देही–५ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोहीअनुरुप मनोनयनका लागि उनले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको टिकट लिएर गइसकेका थिए ।

घिमिरे हालै एमालेबाट अलगिएका नेता घनश्याम भुसालका विश्वासपात्र हुन् । एमालेका विभाजन ताका पनि भुसाल जुन कित्तामा उभिएका थिए, घिमिरेले पनि त्यही कित्तामा पाइला राखेका थिए ।

रुपन्देहीमा एमालेलाई बलियो बनाउन घिमिरेको योगदानको अवमूल्यन गर्न सकिँदैन । तर, पार्टीले भुसाललाई टिकट नदिएपछि उनले एमाले परित्याग गरेर बाम स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्ने निर्णयसहित उम्मेदवारी दर्ता गरेका छन् । भुसाललाई सत्तारुढ गठबन्धनले सघाउने वाचा दिएको छ ।

हुन त भुसालको नाम रुपन्देही–१ बाट सिफारिस भएको थियो भने घिमिरेलाई क्षेत्र नं. ५ बाट उठाउने तरखर थियो । भुसाल सधैँ एमालेमा ओलीको आलोचक थिए । भुसालको प्रभाव कम गर्न ओली पक्षले जसरी भए पनि घिमिरेलाई आफ्नो खेमामा तान्ने अभियान चलाएको थियो । 

हुनत घिमिरे रुपन्देही कै अर्का प्रभावशाली नेता विष्णु पौडेलको पनि विरोध गर्थे । तर, भालुवाङलाई लुम्बिनीको राजधानी बनाउने तत्कालीन प्रधानमन्त्री ओलीको निर्णयलाई पौडेलले सहजै शिरोधार्य गरेका थिए ।

तर, भुसाल र घिमिरेले त्यसको चर्को विरोध गरेका थिए । ओली सरकारमा अर्थमन्त्री भएको बेला पौडेलले तिलोत्तमा र बुटवललाई अन्य केही स्थानीय तहसँग गाभेर महानगर बनाउने तथा घिमिरेलाई नै मेयरमा निरन्तरता दिने वचनसहित भुसालभन्दा टाढा लगेका थिए । महानगरको मेयर बन्ने लोभमा उनले चटक्क भुसालको साथ छाडे । तर, महानगरको मेयर बन्ने उनको चाहना पुरा हुन सकेन ।

त्यसपछि उनी फेरि भुसालसँग केही नजिक जस्तो देखिन थालेका थिए । घिमिरेलाई फेरि आफ्नो पक्षमा ल्याउन रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन ओलीले पासा फालेका थिए । त्यो पासामा घिमिरे फेरि एक पटक फसे ।

उम्मेदवारी दर्ता गर्न टिकट हात पारिसकेका घिमिरेलाई आइतबार मनोनयन दर्ता गर्नुअगावै पार्टी मुख्यालयबाट टिकट खोसिएको जानकारी दिइयो ।

उनको स्थानमा राष्ट्रिय सभामा एमालेका सचेतक खिमलाल भट्टराईलाई उम्मेदवार बनाइने निर्णय गरिएको थियो । यो खबरलाई सबै मिडियाले प्रमुखताका साथ प्रकाशन तथा प्रसारण गरे । तर, घिमिरेले यसलाई सहज रुपमा लिन सकेनन् ।

उनको टिकट खोसिनुको पछाडि विगतमा उनले ओलीलाई गरेको असहयोग तथा भुसालको निकट सहयोगी रहनु नै प्रमुख कारण बन्यो । तर, घिमिरेसँग ओलीको हस्ताक्षर सहितको टिकट त थियो । उनले त्यसकै माध्यमबाट रुपन्देही–५ मा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराए । उता भट्टराई भने राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर अर्को टिकटका साथ रुपन्देही पुगेका छन् ।

साथै उनले पनि एमालेको आधिकारिक उम्मेदवारको दाबी सहित मनोनयन दर्ता गराएका छन् । अब सो क्षेत्रमा एमालेको आधिकारिक उम्मेदवार बारे निर्वाचन अधिकृतले निर्णय गर्नेछन् ।

यो घटनाक्रमले आसन्न निर्वाचनमा एमालेभित्र व्याप्त बेमेलको आगोलाई हावा दिने काम गरेको छ । साथै अध्यक्ष ओलीले नचाहेको व्यक्तिलाई एमालेमा कुनै स्थान नरहेको संकेत समेत गरेको छ ।