close

कास्की-३ बाट प्रतिनिधिसभामा नयाँ अनुहार, कसले जित्ला ?

कास्की-३ बाट प्रतिनिधिसभामा नयाँ अनुहार, कसले जित्ला ?

Trulli
ADVERTISEMENT

कास्की । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले नयाँ जनप्रतिनिधि पाउने पक्का छ । यसभन्दा अघि निर्वाचित सांसदले टिकट नपाएपछि यस क्षेत्रले नयाँ प्रतिनिधिसभा सदस्य चयन गर्नेछ ।

कास्की ३ मा सत्ता गठनबन्धनबाट नेकपा (माओवादी केन्द्र ) का रामजीप्रसाद बराल ‘जीवन’ र नेकपा (एमाले)का दामोदर पौडेल ‘बैरागी’बीच प्रतिस्पर्धा हुने देखिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनमा दुवै उम्मेदवारले खाता खोल्ने दाउमा हुनेछन् । एमालेको तर्फबाट पौडेल एक्लै चुनावी मैदानमा होमिएका हुन् भने बराल लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार हुन् । 

सिट बाँडफाँटमा कास्कीमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजपादी र माओवादीले एक/एक सिट पाएको थियो । सोहीअनुसार माओवादीले बराललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो । बराल गण्डकी प्रदेश सरकारको अर्थ मन्त्री हुन् । उनी प्रतिनिधिसभामा पहिलोपटक जाने प्रतिस्पर्धामा छन्  भने पौडेल पनि पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन् । 

सो क्षेत्रमा यसअघि एमालेका जगतबहादुर विश्वकर्मा विजयी भएका थिए । विसं २०७४ मा विश्वकर्माले ३२ हजार ६९० मत ल्याएर जितेका थिए । 

आसन्न निर्वाचनमा एमाले विगतको विरासत जोगाउने कसरत गर्नेछ तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । अहिलेको निर्वाचनमा भने समीकरण बदलिएको छ । नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी भए भने एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेको छ । अहिलेको निर्वाचनमा कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन छ ।

यस निर्वाचन क्षेत्रमा अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाका १, २, ३, ५, ६, १८, १९, २३, २४, २५ र २६ गरी ११ वडा पर्दछन् । यीमध्ये बैसाखमा भएको स्थानीय तह निर्वाचनमा अन्नपूर्णमा एमाले र माछापुच्छ्रेमा कांग्रेसले जितेको छ । महानगरको ११ वडामध्ये तीन वडा एमालेले सात वडा कांग्रेस र एउटा वडा स्वतन्त्रले वडाध्यक्ष पदमा  जितेका थिए  । 

स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारको दलगत मतले एमाले ठूलो दल देखिन्छ भने सत्ता गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र समेतको मत जोड्दा गठबन्धन केही मतले अघि देखिन्छ । स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले कूल २९ हजार ८०५ मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार ८४६ मत प्राप्त गरेका थिए । यसबाहेक माओवादी केन्द्रका वडाध्यक्षले दुई हजार ४०० र एकीकृत समाजवादीका वडाध्यक्षले ५०१ मत पाएका थिए । 

यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १५ उम्मेदवार प्रतिस्पर्धामा रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क) मा सात जना र (ख) मा ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।