close

दाङ–२ मा कसले मार्ला बाजी ? (भिडियो सामग्रीसहित)

दाङ–२ मा कसले मार्ला बाजी ? (भिडियो सामग्रीसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । दाङ–२ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रकी रेखा शर्माबीच कडा प्रतिस्पर्धा हुने भएको छ । 

सत्ता गठबन्धनले रेखा शर्मालाई र एमालेले शंकर पोखरेललाई चुनावी मैदानमा उतारेसँगै दुई जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो । 

नेकपा एमालेका महासचिव शंकर पोखरेल २०५१ सालपछि दोस्रो पटक प्रतिनिधिसभामा पुग्ने प्रयासमा छन् । 

२०५६, २०६४ र २०७० निर्वाचनमा पराजित भएका पोखरेल २०७४ सालमा प्रदेशसभाको निर्वाचनमा जित हात पार्दै मुख्यमन्त्री बनेका थिए । तर, उनका लागि संसदीय चुनावमा जीत हात पार्नु चुनौतीपूर्ण बन्दै आएको छ । 

दाङको क्षेत्र नम्बर २ बाट चुनाव लड्न लागेका पोखरेल यसपटक नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग प्रतिस्पर्धा गर्दैछन् । एमालेका वैचारिक नेताका रुपमा चिनिने पोखरेल धेरैजसो नीति र सिद्धान्तका कुरा गर्छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीका विश्वास पात्र र एमाले अध्यक्ष केपी ओलीका उत्तराधिकारीको रूपमा पोखरेललाई कार्यकर्ताले हेर्ने गरेका छन् । 

अर्कोतिर माओवादी नेता शर्मा पार्टीभित्र उदयीमान, प्रतिभाशाली नेता हुन् । संघीय सरकारमा मन्त्री भइसकेकी शर्मा प्रभावकारी संसदीय भूमिका निभाएर छवि बनाएकी नेता हुन् । 

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्ने हो भने यो क्षेत्रमा सत्ता गठबन्धनकी उम्मेदवार रेखा शर्मा सहज अवस्थामा छिन् । 

यो क्षेत्रमा सत्ता गठबन्धनका वडाध्यक्ष उम्मेदवारको ३६ हजार एक सय ४६ मत ल्याएका छन् भने नेकपा एमालेका वडाध्यक्ष उम्मेदवारहरूको ३३ हजार ५९३ मत प्राप्त गरेका छन् ।

तर, एमाले नेताहरू शंकर पोखरेलको व्यक्तित्वका कारण चुनाव जित्ने दाबी गर्छन् । लुम्बिनी प्रदेशको राजधानी दाङमा राख्ने निर्णय गराएकाले त्यसको फाइदा पोखरेललाई मिल्ने उनीहरूको तर्क छ । पोखरेलले पनि उम्मेदवारी दर्ता गरेयता आफूले दाङलाई राजधानी बनाउने निर्णय गराएको विषय जोडतोडका साथ उठाइराखेका छन् । 

अर्कोतर्फ विगतमा सामान्य प्रशासनमन्त्री भएकी रेखा पहिलोपटक प्रत्यक्षतर्फको निर्वाचन लड्न लागेकी हुन् ।शर्माले आफूले संविधानको रक्षाका लागि प्रतिगमनलाई परास्त गर्न निर्वाचन लड्न लागेको बताउने गरेकी छिन् ।

रोल्पा र प्यूठानसँग सीमा जोडिएको दाङमा दुवै जिल्लाबाट बसाइ सरेर आएकाहरूको बाक्लो उपस्थिति छ । आस्थाका दृष्टिकोणले अधिकांश रोल्पाली माओवादीनिकट छन् । त्यसको लाभ रेखालाई मिल्ने देखिन्छ । 

त्यस्तै, नेपाली कांग्रेसको बलियो पडक भएकाले कांग्रेसको मत ट्रान्सफर हुँदा रेखालाई जित निकाल्न सहज हुने देखिन्छ । 
अर्कोतर्फ पोखरेलले स्थानीय तह निर्वाचनमा पालिका प्रमुखमा आफ्ना दलका उमेदवारलाई जिताउन सकेका कारण उनी यसपटक निर्वाचन जित्नेमा उत्साही छन् । 

तर, स्थानीय निर्वाचनका बेलामा जस्तो गठबन्धनमा किचलो नरहेका कारण यसपटक जित हासिल हुने स्थानी माओवादीका नेताहरुको दाबी छ । 

तर, पोखरेल र शर्मा दुबैका लागि जित निकाल्न कांग्रेसको मत निर्णायक हुने देखिन्छ । शर्मालाई जितका लागि कांग्रेसको सबै मत तान्न चुनौतीपूर्ण छ भने पोखरेललाई जितका लागि कांग्रेसको मत आकर्षित गर्नुपर्ने हुन्छ । 

पोखरेल र शर्माबीचको रोचक चुनावी प्रतिस्पर्धामा कसले बाजी मार्छ भन्ने मंसिर ४ मा झरेको मतले निर्धारण गर्नेछ ।