close

चुनावी महासंग्राम : गिरिराजमणि भर्सेस लक्ष्मी महतो (भिडियो सामग्रीसहित)

चुनावी महासंग्राम : गिरिराजमणि भर्सेस लक्ष्मी महतो (भिडियो सामग्रीसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं ।आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनले सारा मुलुकलाई तताइरहेको छ । जसको असर मधेसी समुदायको बाहुल्यता रहेको महोत्तरीमा पनि अधिक देखिएको छ । 

यो जिल्लामा अहिले चुनावी सरगरमी निकै बढेको छ । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीले यसपालि पनि नयाँ अनुहार चुन्ने सम्भावना कमजोर देखिन्छ । 

किनकि यहाँ राष्ट्रिय राजनीतिमा जमेका नेता नै चुनावी मैदानका खेलाडी बनेका छन् । २०२८ सालदेखि प्रायः सबै निर्वाचनमा भाग लिएका शरदसिंह भण्डारीदेखि उमेरमा ८० वर्ष पुगेका महन्थ ठाकुरसम्म चुनावी मैदानमा छन् ।

लगातार तीनपटक चुनाव जितेर ह्याट्रिक गरेका नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पनि चौथो जितका लागि मैदानमा छन् । 

महोत्तरी–१ बाट उठेका उनलाई यसपटक सत्ता गठबन्धनको साथसमेत छ । गत स्थानीय तहको निर्वाचनलाई आधार बनाउने हो भने यहाँ गठबन्धनकै जीत सुनिश्चित देखिन्छ । 

तर, उनलाई यसपालि एमाले–जसपा गठबन्धनका उम्मेदवार लक्ष्मी महतोले कडा टक्कर दिने सम्भावना छ । तत्कालीन समाजवादी फोरम हुँदै जसपामा रहेका महतोमाथि नेपाल प्रहरीका असई थमन विकको हत्या आरोप छ । तर, अदालतले उनको उम्मेदवारी खारेज नगरेपछि पोखरेलका मुख्य प्रतिद्वन्द्वी नै महतो नै बन्नेछन् । 

एमालेले रातारात पार्टी प्रवेश गराएर महतोलाई टिकट दिएको विषय राष्ट्रिय चर्चाको विषय समेत बनेको छ । पाँच वर्षअघिको निर्वाचनमा महोत्तरी १ बाट बामगठबन्धनबाट चुनाव लडेका पोखरेलले उनै लक्ष्मी महतोलाई ४ हजार २ सय ८२ मतले पराजित गरेका थिए । 

फेरि एकपटक दुवै जना जितका लागि आमुन्ने–सामुन्ने भएका छन् । महतोले एमालेलाई रोज्दा जसपा भने सत्ता गठबन्धन मै थियो । जसले गर्दा उनले टिकट पाउने कुरामा समेत उनी निर्धक्क बन्न सेका थिएनन् । 

जसले गर्दा पोखरेलसँग पछिल्लो हारको बदलासमेत लिन महतोले पार्टी नै परिवर्तन गरेर एमाले रोजेका छन् । महोत्तरीमा जसरी महतोको दलीय आस्था परिवर्तन भएको छ । 

त्यसैगरी दलहरुबीचको चुनावी समीकरणमा पनि परिवर्तन आएको छ । पाँच वर्षअघि बामगठबन्धनमा एमाले र माओवादी केन्द्र थिए । तर, अहिले ठ्याक्कै उल्टो समीकरण छ ।

अहिले बामलोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासहित पाँच दल छन् ।

अर्कोतिर नेकपा एमाले, जसपा र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धन छ । फौजदारी अभियोग लागेका महतोविरुद्ध दोस्रो पटक चुनावी मैदानमा होमिएका पोखरेल माओवादीभित्र दगी र निष्ठावान् नेताका रुपमा चिनिन्छन् । मधेस आन्दोलनका क्रममा महतोमाथि असई विकको हत्या गरेर फरार रहेको आरोप छ ।

महोत्तरी एकमा स्थानीय तहको मत परिणाम हेर्दा सबै क्षेत्रमा सत्ता गठबन्धनको अवस्था बलियो देखिन्छ । बर्दिबास नगरपालिकाका १४ वटै वडा, र गौशाला नगरपालिकाका १२ वटा वडा र भंगाहा नगरपालिकाको वडा नं. ३, ४, ५ र ९ चारवटा गरी ३० वटा वडा क्षेत्र नम्बर १ मा पर्छन् । 

स्थानीय निर्वाचनमा बर्दिबास नगरपालिका कांग्रेसबाट विद्रोह गरेको स्वतन्त्र समूहले जितेको छ भने गौशाला नगरपालिका जसपाले । 

३० वडामध्ये कांग्रेस र जसपाले ७–७, माओवादी केन्द्रले ६, एमाले र लोसपाले ३ वडामा जित हात पारेको छ । वडा अध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा यहाँ नेकपा माओवादी केन्द्र सबैभन्दा अगाडि छ । 

उसले १५ हजार ८ सय ८८ मत पाउँदा कांग्रेसले १३ हजार १ एक सय ४८, एमालेले ८ हजार ३४ मत पाएका छन् । जसपाले ७ हजार २ सय ३७, लोसपाले ७ हजार ६९ मत पाउँदा स्वतन्त्र उम्मेदवारहरूले ६ हजार ५ सय १४ मत पाएका छन् । 
माओवादीको प्रमुख सचेतकसमेत रहिसकेका पोखरेल अविवाहित नेता हुन् ।

पोखरेलकै पहलमा महोत्तरीमा बर्दिबास नगरपालिकाको वडा नम्बर.३, गौरीडाँडास्थित आधारशिला सामूहिक बस्ती निर्माण भएको छ । 

क्रान्तिकारी आन्दोलनमा लागेका १६ परिवारको सम्पत्ति एकै ठाउँमा जम्मा गरेर निर्माण गरिएको आधारशिला बस्तीमा नै पोखरेलले १५ वर्ष बिताइसकेका छन् ।