close

भोट माग्न बारीमै पु्ग्छन् उम्मेदवार

भोट माग्न बारीमै पु्ग्छन् उम्मेदवार

Trulli
ADVERTISEMENT

बागलुङ । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्तीबस्ती र कृषकका बारीबारीमा पुगिरहेका छन् । 

बागलुङका किसानलाई भने धान बाली भित्र्याउने चटारो छ । वर्षा भयो भने धान नोक्सान हुने दिने डरले उनीहरू आकाश हेर्दै धमाधम धान भित्र्याउन थालेका छन् । उम्मेदवार तथा नेता कार्यकर्ता प्रचार सामग्री बोकेर खेतबारीमै पुगेर भोट मागी रहेका छन् । उनीहरू आफ्नो दुःख पीडा बुझिदिने नेताले मात्र चुनाव जितोस् भन्ने पक्षमा छन् । बागलुङका अधिकांश किसान यतिबेला धान काट्ने, गहुँ, जौँ छर्ने चटारोमा छन् । कामको मुख्य याममा चुनाव आए पनि हरसम्भव सहभागी भएर असल नेता छान्ने उनीहरुको धोको छ ।

प्रतिनिधि तथा प्रदेशसभामा उम्मेदवार बनेका नेतालाई भोट माग्न मतदाताको घरदैलोमा पुग्न हतारो छ भने किसानलाई धानबाली भित्र्याउने चटारो । किसानका लागि मानो रोपेर मुरी उत्पादन गरेको अन्नबाली भित्र्याउने अहिले मुख्य समय हो । त्यसैले धेरै मतदाता धान खेतमै व्यस्त छन् । खेतबारीमा व्यस्त किसानले अहिलेसम्म यहाँबाट जितेर गएका नेताले कृषि क्षेत्रमा काम नगरेको गुनासो गरे ।

ढोरपाटनका स्थानीय चूडामणि कार्कीले पछिल्लो केही दिययता उम्मेदवार तथा नेता भोट माग्न घरदेखि बारीसम्म आएको बताए । उनले उम्मेदवारलाई कृषकको समस्या राखेको र पूरा गर्ने आश्वासन दिएको बताए । कार्कीले यस क्षेत्रबाट धेरै पटक धेरै नेतालाई जिताएर पठाए पनि जनताका लागि काम गर्न नसकेको बताए ।

‘हाम्रो यो क्षेत्रबाट अहिलेसम्म धेरै नेतालाई जिताएर पठायौँ, तर कसैले पनि जनताका लागि काम गर्नु भएन, अहिले पनि भोट माग्न दिनदिनै आउनुभएको छ, उहाँहरूलाई मैले किसानको समस्या समाधान गर्ने भए मात्रै भोट दिन्छौँ नत्र दिँदैनौँ भनेको, तपाईहरूको काम गर्छौं भनेका छन्’, उनले भने । 

स्थानीय प्रेमनाथ पौडेलले नेताले बारीमै आएर भोट माग्न किसानलाई फकाइराखेको बताए । उनले जनतालाई नेताहरुले पटक–पटक आश्वासन मात्रै दिएको हुँदा धेरै निराश बनेको बताए । समाज र जनताका लागि काम गर्ने नेताको खाँचो भएको पौडेल बताउँछन् । 

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा ३१ उम्मेदवार चुनावी मैदानमा छन् ।