close

पाण्डेयको छैटौँ र गैरेको पहिलो प्रतिस्पर्धा, कसले जित्ला ?

पाण्डेयको छैटौँ र गैरेको पहिलो प्रतिस्पर्धा, कसले जित्ला ?

Trulli
ADVERTISEMENT

पाल्पा । सोमप्रसाद पाण्डेय छैटौँ पटक चुनावी मैदानमा छन् । उनी २०५१  सालदेखि पाल्पाबाट चुनाव लड्दै आएका छन् । यसपालि उनले सिद्धबाबाको बाटो निर्माणलाई चुनावी मुद्दा बनाएका छन् । 

‘सिद्धबाबाको बाटोमा सुरुङमार्गको योजना अगाडि बढेको छ’, पाल्पा क्षेत्र नं २ मा पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रहेका पाण्डेयले भने, ‘यो क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी हो ।’ 

विगतमा व्यवस्था परिवर्तनका लागि लडेको उल्लेख गर्दै उनले यो निर्वाचनले विकास र समृद्धिको रेखा कोर्ने उल्लेख गरे । पाल्पाको क्षेत्र १ मा २०५१ सालदेखि नै एमालेका उम्मेदवार विजयी हुँदै आएका छन् । क्षेत्र नं २ मा २०५१, २०५६, २०७० र २०७४ मा सोमप्रसाद पाण्डेय विजयी भएका थिए । उनी त्यतिवेला एमालेमै थिए । विसं २०६४ मा नेकपा माओवादीकी लीला सोमैसँग उनी पराजित भएका थिए ।

यस्तै पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बने नेकपा एमालेका ठाकुर गैरेले समग्र पाल्पाको एकीकृत विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । 

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाण्डेय र गैरले घरदैलो अभियानलाई तीव्र पारेका छन् । पाल्पाको विकासको खाका लिएर आएको भन्दै दुवैजनाले मतदाता रिझाउन थालेका छन् । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य गरी ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
 
यो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा पाण्डेय र गैरेकै बीच हुने देखिन्छ । सदरमुकाम तानसेन नगरपालिकासहित बगनासकाली, रिब्दीकोट, रैनादेवी र तिनाउ गाउँपालिका यो निर्वाचन क्षेत्रभित्र पर्दछन् ।

प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्रमा २३ जनाको उम्मेदवारी परेको छ । प्रदेशसभाको चार क्षेत्रमा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा क्षेत्र १ मा राजनीतिक दल र स्वतन्त्र गरी १० तथा २ मा १४ जनाले उम्मेदवारी दिएका छन् ।