close

चुनावी महासंग्राम : अछाम–१मा कसले मार्ला बाजी ? (भिडियोसहित)

चुनावी महासंग्राम : अछाम–१मा कसले मार्ला बाजी ? (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कतिपय अर्थमा रोचक बन्दैछ ।

नेकपा एमाले विभाजनका कारण पूर्व सहकर्मीहरू अहिले एकअर्काका प्रतिद्वन्द्वी बनेका छन् । लोकतन्त्र र गणतन्त्रको आन्दोलनमा एउटै पार्टीको झन्डा बोकेका कतिपय नेता अहिले एकअर्कालाई पछार्ने अभियानमा लागेका छन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम–१ को अवस्था पनि यस्तै छ । यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा एकीकृत समाजवादीका शेरबहादुर कुँवर मैदानमा छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कोपभाजनमा परेर टिकटबाट वञ्चित नेता भीम रावलको यो चुनावी क्षेत्रमा अहिले एमालेले झपट बोहरालाई मैदानमा उतारेको छ । 

हुन त वडादेखि प्रदेशसम्मले एकल सिफारिस गरे पनि रावललाई टिकटबाट वञ्चित गरेपछि एमाले कार्यकर्ता रुष्ट बनेका छन् । जसको फाइदा कुँवरलाई हुने अनुमान गरिँदै छ । 

पाँच वर्षअघि नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित बोहराले कुँवरलाई हराउन रावलका समर्थकको समेत मन जित्नुपर्ने चुनौती छ । यही कारण अछाम–१ को चुनाव रोचक हुने देखिन्छ । साथै नेपाली कांग्रेसका बागी उम्मेदवार राजन कुँवरले समेत यहाँको चुनावी समीकरणलाई असर पार्न सक्ने अनुमान गरिएको छ । 

श्रममन्त्री समेत रहेका कुँवरले सार्वजनिक रूपमै एमाले नेता रावलको सद्भाव आफूसँग रहेको बताइसकेका छन् । 

यो दाबीले सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री बोहरालाई केही झस्काएको पनि छ । कुँवर र बोहरा दुवै जनताले तत्कालीन नेकपामा रहँदा सहकार्य गरेका थिए । 

त्यसमाथि सधैँ रावलको हितैषी रहेका कुँवरले एमाले नेतृत्वसँग रुष्ट बनेका अछामी कार्यकर्ताको मन र मत आफ्नो पक्षमा पार्ने रणनीतिमा समेत काम गर्दै आएका छन् । 

जसमा उनी सफल हुने एकालेका स्थानीय कार्यकर्ता बताउन थालेका छन् । तर, दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने कुरामा भने दुई मत छैन । 

अहिले बोहरा एमालेका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज हुन भने कुँवर समाजवादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम उपाध्यक्ष हुन् । त्यसैले चुनावी नतिजालाई आफ्नो पक्षमा पार्न सत्ता गठबन्धन र एमालेले कुनै कसर बाँकी राखेका छैनन् । 

त्यसमाथि एमाले अध्यक्ष ओली अछाममा रावलको शक्ति कमजोर बनाउन जसरी भए पनि बोहरालाई विजयी बनाउने रणनीतिमा लागेका छन् । 

उता भित्री रूपमा बोहराले जितेको खण्डमा आफ्नो शक्तिमा ह्रास आउने भयले रावलको भित्री समर्थन कुँवरलाई हुने निश्चित छ । आर्थिक मामिलाका जानकार बोहरा नेपालमा विकास बैकलाई अगाडि बढाउने केही व्यक्ति मध्ये एक हुन् । 

अछाममा नेकपा एमालेको बलियो संगठन भएकाले आफूले निर्वाचन जित्नेमा बोहरा विश्वसत देखिन्छन् । तर, त्यसमा रावल ‘फ्याक्टर’ लाई भने बिर्सन मिल्दैन । 

कुँवर २०६४ सालको पहिलो संविधानसभा चुनावमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए । 

त्यसबेला एमालेका नेता रावल समानुपातिकबाट सांसद बनेका थिए । त्यसपछि २०७० र ७४ सालको चुनावमा कुँवरले रावललाई प्रत्यक्षतर्फ लड्न क्षेत्र छोडेका थिए । उनी २०७४ मा राष्ट्रिय सभा सदस्यसमेत निर्वाचित भएका थिए । 

उता कांग्रेसका महासमिति सदस्यसमेत रहेका राजन कुँवरले सत्ता गठबन्धनको भोट काट्ने सम्भावना निकै बलियो छ । त्यसमाथि यस क्षेत्रमा जातीय समीकरणले समेत असर पार्ने गरेको छ । दुई कुँवरमा मैदानमा रहँदा बोहराले फाइदा उठाउने सम्भावनालाई नकार्न सकिँदैन । 

त्यसैले यहाँ त्रिपक्षीय भिडन्त हुने कुरालाई समेत नकार्न सकिँदैन । यही कारण राजनको उम्मेदवारीले बोहरालाई केही हाइसन्चो भएको छ ।
एक नगरपालिकासहित चार गाउँपालिका रहेको यस क्षेत्रमा मतदाताको संख्या ७९ हजार ३६ छ । 

यहाँ साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र रामारोशन गाउँपालिकाका मतदाताले प्रतिनिधिसभामा मतदान गर्नेछन् ।