close

चुनावी महासंग्राम :  पर्वतमा जोशी र गिरीमध्ये कसले मार्ला बाजी ? (भिडियोसहित)

चुनावी महासंग्राम :  पर्वतमा जोशी र गिरीमध्ये कसले मार्ला बाजी ? (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा चिरपरिचित दुई अनुहार फेरी यस पटक पनि आमुन्ने सामुन्ने हुँदैछन् ।

यस पटक पनि ५ वर्षअघि कै प्रतिद्वन्दी, नेकपा एमालेका पदम गिरी र कांग्रेसका अर्जुनप्रसाद जोशीबीचमा प्रतिस्पर्धा हुनेछ ।

गठबन्धनका उम्मेदवार जोशी आफ्नो पुरानो विरासत फर्काउन कम्मर कसेर लागेका छन् । गिरी जित दोहो¥याउने लक्ष्यसहित चुनावमा होमिएका छन् । विगतको चुनावी अंक गणित हेर्दा पर्वतमा गठबन्धन र एमालेका उम्मेदवारबीच केही सय मतको मात्रै अन्तर छ । जसले गर्दा यहाँको चुनाव निकै रोचक बन्ने पक्का छ । 

उम्मेदवार जति पूराना छन्, उनीहरुको चुनावी एजेण्डा पनि पुरानै छ । यसबाट मतदाता भने केही खिन्न देखिन्छन् । पहाडी जिल्ला र सदरमुकामबाहेक अन्य स्थानमा सडक पूर्वाधार कमजोर छ । त्यसैले सडकसँगै अन्य पूर्वाधार विकासलाई उम्मेदवारहरुले प्रमुख चुनावी मुद्दा बनाएका छन् ।

यहाँ कांग्रेसका जोशी र एमालेका गिरीसँगै प्रतिनिधि सभामा १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । २०५६ को संसदीय निर्वाचनमा विजयी भएर जोशीले संसदको यात्रा सुरु गरेका थिए । अहिले उनी पाँचौँपटक भोट माग्न पर्वतका जनताको घरदैलोमा पुगेका छन् ।

उनी २०६४ को पहिलो र  २०७० को दोस्रो संविधानसभा निर्वाचनमा समेत विजयी भएका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने जोशीलाई एमालेका युवा नेता गिरीले हराएका थिए । गिरी यसपटक पनि जित दोहो¥याउने दाउमा छन् भने जोशी विरासत फर्काउने दबाबमा छन् । जोशीले आफूले जित्ने मुख्य आधार नै गठबन्धन भएको दाबी गर्ने गरेका छन् । जोशीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक संविधानमाथि प्रहार गरेका कारण त्यसको रक्षाका लागि आफू गठबन्धनको साझा उम्मेदवार बनेको दाबी गरीरहेका छन् ।  

एमाले उम्मेदवार गिरीले आफूले चुनाव जित्ने प्रशस्त आधार रहेको दाबी गर्ने गरेका छन् । उनले एमालेले उठाएको राष्ट्रिय स्वाधीनताको रक्षाको मुद्दाका लागि लड्दै आएको हुँदा त्यही कारण जनताले एमालेलाई भोट दिनेमा विश्वास व्यत्तत गर्ने गरेका छन् ।

गिरीले एमालेले चुच्चेनक्सा सार्वजनिक गर्नेदेखि राष्ट्रियताको पक्षमा पटक–पटक बोल्दै आएको हुँदा पनि जनताको रोजाइ बन्ने बताए ।

गिरीले पर्वत जिल्लाको विकासका निम्ति आफ्नो उम्मेदवारी रहेको बताए । उनले अघिल्लो कार्यकालमा सुरु गरेका कामलाई अबको पाँच वर्षमा सक्न पनि जनताले आफूलाई रोज्ने बताए । 

यसअघिको प्रतिनिधिसभा र स्थानीय निर्वाचनमा प्राप्त मतको आधारमा गिरी र जोशीको निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ को चुनावमा गिरीले ३९ हजार २ सय ७५ मत ल्याएर विजयी हुँदा जोशीले २६ हजार ८ सय १९ मत प्राप्त गरेका थिए । उता स्थानीय तहको निर्वाचनमा एमालेका वडाध्यक्ष उम्मेदवारहरूले कुल ३५ हजार ७ सय १६ मत प्राप्त गर्दा कांग्रेसले २९ हजार ३ सय ४४, माओवादी केन्द्रले ५ हजार ३ सय ६, नेकपा एकीकृत समाजवादीले ५ सय ४६ र राष्ट्रिय जनमोर्चाले ८ मत पाएका थिए ।