close

काठमाडौं-४मा थापा र भट्टराईमध्ये कसले मार्ला बाजी ? (भिडियो सामग्रीसहित)

काठमाडौं-४मा थापा र भट्टराईमध्ये कसले मार्ला बाजी ? (भिडियो सामग्रीसहित)

Trulli
ADVERTISEMENT

आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई फेरि एक पटक काठमाडौं–४ मा भिड्दै छन् । 

स्थानीय तहको मतलाई आधार मन्दा काठमाडौं–४ मा सधैँ बामपन्थी दलप्रति झुकाव राख्ने मतदाताको संख्या बढी देखिन्छ । तर, विगतका संसदीय निर्वाचनमा भने यो क्षेत्रमा कांग्रेसी उम्मेद्वारले सफलता पाउँदै आएका छन् । 

पहिलो संविधानसभा निर्वाचनमा माओवादीले अद्युम मच्चाउँदा समेत यो क्षेत्रमा कांग्रेस विजयी भएको थियो । यस आधारमा यहाँको नतिजालाई प्रभावित पार्नसक्ने मतदाता राजनीतिकभन्दा पनि उम्मेदवारलाई हेर्छन् भन्ने देखिन्छ । 

पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य बनेका महामन्त्री थापाले त्यसपछि हरेक निर्वाचनमा आफूलाई सफल बनाउँदै आएका छन् । स्थानीय मतदातासँग घुलमिल हुनसक्ने स्वभाव कै कारण यहाँका मतदाताले उनलाई रुचाउने गरेका छन् । 

त्यसमाथि विपद्का बेला सधैँ अगाडि देखिने हुँदा पनि यो क्षेत्रका मतदातामा थापा लोकप्रिय छन् । 

हुन त थापा झैँ एमालेका भट्टराई पनि यही क्षेत्रका स्थानीय बासिन्दा हुन् । तर, उनी जनताको माझ भिज्न नसकेका नेताका रुपमा चिनिन्छन् । चुनावका बेला बाहेक यस क्षेत्रका जनतासँग आत्मीयता साटासाट गर्ने विषयमा उनी कमजोर छन् । 

जसको बेफाइदा उनले पछिल्लो चुनावी परिणाममा भोगेका थिए । पाँच वर्षअघि बाम गठबन्धनको सहयोगमा चुनाव लड्दासमेत थापासँग पराजित भएका भट्टराईलाई जिताउन अहिले अर्को कुनै सारथिको साथ छैन । 

काठमाडौं–४ मा माओवादी केन्द्रको मतसमेत राम्रै रहेका कारण बाम लोकतान्त्रिक गठबन्धनका थापालाई हराउन भट्टराईलाई सहज छैन । 

थापाले समयअगावै प्रधानमन्त्रीमा दाबेदारी प्रस्तुत गर्दा कांग्रेसको संस्थापन पक्ष रुष्ट देखिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवलाई भावी प्रधानमन्त्री मान्ने नेता र कार्यकर्ता अहिले महामन्त्री थापाको समर्थनमा ‘फ्रन्ट लाइन’ मा देखिएका छैनन् । कांग्रेसका केही नेता कार्यकर्ता त थापालाई हराउन गोप्य अभियानमै लागेको स्थानीय मतदाताको बुझाइ छ । 

आफ्नो विरोधमा उत्रिएका यस्ता नेता कार्यकर्ताको रणनीतिलाई कमजोर बनाएर जित्नसक्ने क्षमतासमेत थापामा छ । 

तर, कांग्रेस थापाविरोधी खेमाको रणनीति सफलको खण्डमा भट्टराई पहिलोपटक सांसद नबन्लान् भन्न सकिँदैन । 

अनि थापाको प्रधानमन्त्री बन्ने महत्वाकांक्षामा पखेँटा पलाउन अर्को पाँच वर्ष कुर्नैपर्ने अवस्था आउनेछ । 

चुनावका बेला सधैँ चर्चामा आइरहने काठमाडौं–४ काठमाडौँ महानगरपालिकाका ४ र बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा समावेश छन् । जसमा काठमाडौं महानगरका १, ७, ८ र ३० तथा बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा समेटिएका छन् । 

निर्वाचन आयोगले यी १२ वडामा चुनाव सम्पन्न गर्न ३३ वटा मतदानकेन्द्र निर्धारण गरेको छ । ६९ हजार ३६७ मतदाता बसोबास गर्ने काठमाडौं–४ मा नेकपा एमालेको पकड बलियो देखिन्छ । तर, चुनावी पासा पल्टाउने मामिलामा थापा सधैँ अगाडि छन् । 

२०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं ४ मा वडाध्यक्षका उम्मेदवारको मतअनुसार कांग्रेसभन्दा एमाले २ हजार ६ सय ३७ मतले अगाडि थियो । तर, त्यही वर्ष सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा माओवादीको सहयोग पाउँदासमेत भट्टराईले झन्डै ३ हजार मतान्तरको पराजय स्वीकार्नुपरेको थियो । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका वडाध्यक्षले फेरि एक पटक कांग्रेसभन्दा बढी मत पाएका छन् । यो क्षेत्रमा एमालेमा विभाजनको असरसमेत देखिएन । 

काठमाडौं–४ का वडाध्यक्षका उम्मेदवारले स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा अहिले पनि कांग्रेसभन्दा एमाले ७ सय ४४ मतले अगाडि छ । 

तर, प्रतिनिधिसभाको निर्वाचनमा फेरि एकपटक विगतकै नतिजा दोहरिने सम्भावना बलियो देखिन्छ ।