close

चुनावी महासंग्राम : मोरङ–६ मा लालबाबुु भर्सेज् शेखर (भिडियोसहित)

चुनावी महासंग्राम : मोरङ–६ मा लालबाबुु भर्सेज् शेखर (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ–६ मा नेपाली काँग्रेसको संस्थापनइतर पक्षका नेता डाक्टर शेखर कोइरालालाई नेकपा एमालेका निवर्तमान सांसद लालबाबु पंडितलाई हराउनु पर्ने दबाब छ । 

काँग्रेसबाट आगामी प्रधानमन्त्रीको दाबेदारीसमेत प्रस्तुत गर्दै चुनावी अभियानमा होमिएका कोइरालालाई पण्डितको बलियो छवि र संगठनलाई चिर्दै जित हासिल गर्नुपर्ने चुनौती छ । 

घरदैलो अभियानलाई तीव्रता दिइरहेका कोइराला र पण्डित दुवैले रोजगारी, बाढी नियन्त्रणलगायत जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेको बताइरहेका छन् ।

मोरङ–६ का दुवै उम्मेदवार कोइराला र पण्डितले दुवैले जनतासँग घर, टोल, चोक, चिया पसलमा भेटघाट हुँदा यस क्षेत्रमा रहेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै भोट मागिरहेका छन् । 

विराटनगरलाई दोस्रो ठूलो सहरको रुपमा विकसित गर्न संरचनाको निर्माण गर्ने, निर्यातमूलक उद्योगको स्थापना गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय बनाउने, रोजगारी सुनिश्चित गराउने, स्वास्थ्य, प्राविधिक शिक्षामा सहज पहुँच उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

यस्तै, सुकुम्वासी समस्या समाधान गर्ने, जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता उपलब्ध गराउने, खेलमैदान निर्माण, खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, विराटनगरमा चक्रपथ निर्माणमा आवश्यक बजेट उपलव्ध गराउने, केशलिया खोलाको किनारमा विराटनगर रानीदेखि दुहवीसम्म सडक करिडोर निर्माण गर्नेजस्ता विकासका कार्य गर्ने उनीहरुको प्रतिबद्धता छ ।    

यो क्षेत्रमा कोइराला र पण्डितसँगै अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले पनि जनतासँग यस्तै वाचा गरिरहेका छन् । यसले गर्दा उम्मेदवारको चुनावी एजेन्डाभन्दा पनि उसको व्यक्तिगत छवि नै चुनाव जित्ने कारण बन्दै गएको छ । 

कूल १ लाख २६ हजार ७ सय ६१ मतदाता रहेको मोरङ–६ मा बूढीगङ्गा गाउँपालिकाका सबै वडा, विराटनगर महानगरपालिकाको वडा नं ४, ५, ६, ७, ९, ११ र १२ सँगै सुन्दरहरैचा नगरपालिकाको वडा नं २, ३, ४, ५, ६ र ७ नम्बर वडा समावेस छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बूढीगङ्गा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ ।    

यस्तै विराटनगर महानगरपालिकाका वडा नम्बर ४ र ११ मा मात्रै एमालेका वडाध्यक्ष विजयी भएका छन् । बाँकी ५ मध्ये ४ वटा वडामा काँग्रेस र एउटामा जसपाले सफलता पाएको थियो । 

यस्तै सुन्दरहरैचाका ६ वटा वडामध्ये ३ वटामा काँग्रेस, दुइटामा एमाले र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । 

२०७४ को निर्वाचनमा एमालेका लालबाबु पण्डितले ३३ हजार ९ सय ४१ मत ल्याएर विजयी हुँदा काँग्रेसका डा शेखर कोइरालाले ३३ हजार २ सय ६६ मत ल्याएका थिए । पछिल्लो चुनावमा मात्र ६ सय ७५ मतले हारेका डा. कोइरालालाई अहिले बामलोकतान्त्रिक गठबनधनको साथ छ भने ५ वर्षअघि जितमा सहयोगी बनेको माओवादी केन्द्र अहिले पंडितको विपक्षमा छ ।