close

धनुषा–४ मा रघुवीर र महेन्द्रमध्ये कसले मार्ला बाजी ?(भडियो सामग्रीसहित)

धनुषा–४ मा रघुवीर र महेन्द्रमध्ये कसले मार्ला बाजी ?(भडियो सामग्रीसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट दुई ठूला पार्टीका पदाधिकारी चुनावी प्रतिस्पर्धामा छन् । 

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठ यो क्षेत्रमा दोस्रोपटक आमनेसामने भएका हुन् । 
संघीय सरकारमा मन्त्री रहिसकेका दुवै नेताको मधेश प्रदेशमा राम्रो प्रभाव छ । २०७४ सालको निर्वाचनमा २५ सय ४१ मतको अन्तरले महासेठले यादवलाई हराएका थिए । 

६१ वर्षीय महासेठले २२ हजार ५सय ३२ मत ल्याउँदा ६० वर्षीय यादवले १९ हजार ९ सय ९१ मत ल्याएका थिए । तेस्रो स्थानमा तत्कालीन संघीय समाजवादी फोरमबाट महाजन यादवले १९ हजार ६ सय ६२ मत प्राप्त गरेका थिए । यी तिनै प्रतिस्पर्धीबीच मधेसका २७ वर्षीय हाँस्य कलाकार कृष्ण महतो पनि चुनावी मैदानमा छन् । 

यस निर्वाचन क्षेत्रमा विगतका सहकर्मी यस पटक अलग–अलग कित्तामा बाडिएकाले रोचक प्रतिस्पर्धा हुने देखिन्छ । महेन्द्रको साथमा रहेका कांग्रेसका पूर्वजिल्ला उपसभापति सन्तोष यादव यसपालि एमालेबाट ४ को  प्रदेशसभा ‘क’ मा उम्मेदवार छन् । 

रघुवीरका साथमा रहेका मधेश प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री सत्रुधन महतो भने एकीकृत समाजवादीबाट सत्ता गठबन्धनतर्फका ४ को ‘ख’ बाट उम्मेदवार छन् । 

महाजनको साथमा रहेका जसपा नेता शेषनारायण यादव भने कांग्रेसबाट ४ को ‘ख’ मा उम्मेदवार छन् । यस निर्वाचन क्षेत्रमा मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालि र क्षीरेश्वरनाथ नगरपालिका पर्दछ । यस क्षेत्रमा जम्मा ४२ वटा वडा पर्छन् । गत स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २५ हजार १९५ मत पाएका छन् भने एमालेका उम्मेदवारले २३ हजार ६३० मत पाएका थिए ।  

जसपाले ८ हजार ३७८ पाएको छ । एकीकृत समाजवादीले ८ हजार १६४, माओवादी केन्द्रले ४ हजार ४३४, लोसपाले २ हजार १८४ र जनमत पार्टीले १ हजार ९५० मत पाएका थिए । 

यसरी कांग्रेस, एकीकृत समाजवादी, माओवादी र लोसपाको मत जोड्दा प्रतिनिधिसभामा महेन्द्र बलिया देखिन्छन् । चारवटै दलको मत जोड्दा ३९ हजार ९सय ७७ मत हुन जान्छ । 

गठबन्धनको यो भोट बाँडिएन भने रघुवीरलाई जित्न मुस्किल देखिन्छ । यसअघि माओवादीसँग मिल्दा २२ हजार भोट ल्याएर जितेको एमालेको भोट स्थानीय चुनावसम्म आइपुग्दा बढेको छ । 

अहिले एमालेको भोट मात्र साढे २३ हजार पुगेको देखिन्छ । जसपाका महाजन भने प्रतिस्पर्धामा पछि देखिन्छन् । यो क्षेत्रमा यसपालि पनि नागरिकताको विषय पेचिलो चुनावी एजेण्डा बनेको छ । 

बुवाको जन्मसिद्ध नागरिकता भएका कारण छोराछोरीले नागरिकता नपाएको समस्या पनि धनुषा जिल्लामै यस क्षेत्रमा सबैभन्दा बढी छ । 
एमालेकै मिलिमतोमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगरेको आमबुझाइका कारण पनि यो मुद्दाले पनि रघुवीरलाई समस्या हुने आँकलन गरिएको छ । 

महेन्द्र, महाजन र कृष्णा तिनैजना उम्मेदवार यो मुद्दालाई जोडतोडले उठाइरहेका छन् ।  पाँच दलीय गठबन्धन उम्मेदवार महेन्द्रले जित्ने सबैभन्दा ठूलो आधार भनेको यहाँको स्थानीय तहको मत नै हो । 

तर, सरकारमा हुँदा महासेठले यस क्षेत्रमा धेरै नै विकास गरेकाले पनि महासेठ र महेन्द्रबीच कडा प्रतिस्पर्धा हुने आँकलन गर्न थालिएको छ ।