close

सिराहा-२  : फेरि जित्ने रणनीतिमा राजकिशोर, चित्रलेखा छैनन् कमजोर (भिडियोसहित)

सत्ता गठबन्धन भन्दा जसपा-एमाले गठबन्धनको मत ३ हजार ४ सय २१ ले बढी छ । यस हिसाबले सत्ता गठबन्धनकी चित्रलेखाभन्दा जसपा-एमालेका साझा उम्मेदवार राजकिशोर अगाडि देखिन्छन् ।

सिराहा-२  : फेरि जित्ने रणनीतिमा राजकिशोर, चित्रलेखा छैनन् कमजोर (भिडियोसहित)

सत्ता गठबन्धन भन्दा जसपा-एमाले गठबन्धनको मत ३ हजार ४ सय २१ ले बढी छ । यस हिसाबले सत्ता गठबन्धनकी चित्रलेखाभन्दा जसपा-एमालेका साझा उम्मेदवार राजकिशोर अगाडि देखिन्छन् ।

Trulli
ADVERTISEMENT

काठमाडौँ । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा दुई हेवीवेट उम्मेदवार, जसपाका राजकिशोर यादव र नेपाली काँग्रेसकी चित्रलेखा यादव सिराहा-२ मा चुनावी अखाडामा ओर्लिएका छन् । 

हुनत जसपाले सत्ता गठबन्धनको साथ नछाडेको भए, अहिले यी दुई मध्ये एकले अर्कालाई सघाइ रहेका हुन्थे । तर, अहिले सार्वजनिकरुप मै कुटाकुट गर्ने तहसम्म यी दुई यादवको दुस्मनी बढेको छ । चित्रलेखा बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुन् । राजकिशोरलाई भने एमालेले पनि सघाएको छ । राजकिशोरको पुरानो चुनावी क्षेत्र सिरहा-४ भएपनि यस पटक एमालेसँग भागबन्डा गर्दा उनी २ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका हुन् । 

सभामुखसँगै काँग्रेसको कोषाध्यक्ष समेत बनिसकेकी चित्रलेखा २०५६ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । त्यसपछि उनले दुई पटक समानुपातिकतर्फबाट प्रतिनिधित्व गरिन् । २०७४ को चुनावमा माओवादी केन्द्रबाट सुरेशचन्द्र दास यादव यो क्षेत्रबाट विजयी भएका थिए । जसपाका कार्यकारिणी सदस्य समेत रहेका राजकिशोर भने २०६४ को संविधानसभा चुनावमा विजयी भएका थिए भने २०७० को दोस्रो संविधानसभा चुनावमा पराजित भएका थिए । तर २०७४ को निर्वाचनमा उनी सिरहा-४ बाट निर्वाचित भएका थिए ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा सिरहा-२ मा सत्तारुढ गठबन्धनको तुलनामा एमाले-जसपा गठबन्धन बलियो देखिन्छ । सिरहा-२ मा वरियारपट्टी, नवराजपुर, औरही, सुखीपुर र धनगढी नगरपालिकासहित पाँच वटा स्थानीय तह छन् । त्यसमध्ये काँग्रेसले वरियारपट्टी र धनगढी नगरपालिका जितेको छ भने नवराजपुर र औरही गाउँपालिका जसपा र सुखीपुर नगरपालिका एमालेले जितेको छ । यो क्षेत्रका स्थानीय तहहरूमा ४१ वटा वडा छन् । त्यसमध्ये जसपा-एमाले गठबन्धन र सत्ता गठबन्धनले २०-२० वटा वडा जितेका छन् भने जनमत पार्टीले एउटा वडा जितेको छ ।

वडागत रुपमा यो क्षेत्रमा जसपाले २१ हजार ९७ मत पाएको छ । एमालेले १८ हजार ३ सय ५८ मत पाएको छ । दुवै दलको मत जोड्दा ३९ हजार ४ सय ५५ हुन्छ । त्यस्तै, सत्ता गठबन्धनमा रहेको काँग्रेसले १९ हजार ४ सय ७४, माओवादी केन्द्रले ११ हजार ६ सय ५८, नेकपा एकीकृत समाजवादी पार्टीले ३ हजार ९ सय २३ र लोसपाले ९ सय ७९ मत पाएका छन् । यी सबै दलको मत जोड्दा ३६ हजार ३४ हुन्छ । यो आधारमा यहाँ सत्ता गठबन्धन भन्दा जसपा-एमाले गठबन्धनको मत ३ हजार ४ सय २१ ले बढी छ । यस हिसाबले सत्ता गठबन्धनकी चित्रलेखाभन्दा जसपा-एमालेका साझा उम्मेदवार राजकिशोर अगाडि देखिन्छन् । सिराहालाई जसपाको आधार क्षेत्र मानिन्छ । सिराहाबाटै मधेस आन्दोलनको जग बसेको थियो । तर यहाँ काँग्रेस पनि कमजोर छैन । काँग्रेसका उम्मेदवार चित्रलेखा यादवको दाबीलाई मान्ने हो भने उनले अहिलेसम्म मधेसको विकास र पहिचानका लागि काँग्रेसमा अगुवाइ गरेकी छन् । यसै कारण आफ्नो जित सुनिश्चित रहेको उनको दाबी छ ।

उता जसपाका राजकिशोर पनि आफू चुनाव जित्नेमा ढुक्क छन् । काँग्रेसले पटक पटक मधेसी जनतालाई झुक्काएर मत लिएको र मधेसी जनतालाई विभेद गरेको आरोप लगाउँदै त्यही कारण आफ्नो जित पक्का रहेको दाबी उनको छ ।