close

मनाङेलाई जाडोभन्दा चुनावको चिन्ता

मनाङेलाई जाडोभन्दा चुनावको चिन्ता

Trulli
ADVERTISEMENT

मनाङ । मनाङमा जाडो बढ्दै गएको छ । जाडोयाममा मनाङमा बस्न प्रतिकूल हुन्छ । त्यसैले मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन् । 

तर यस पटक भने मनाङवासी जाडो छल्न बेसी झर्ने बेलामा जिल्ला भित्रिँदै छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङवासी मतदान गर्न जिल्ला फर्किने क्रममा छन् । 
    
मनाङमा चिसो बढ्न थालेपछि मनाङी काठमाडौँ, पोखरालगायत स्थानमा जाने अवस्थामा जिल्ला फर्किने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । 'मनाङवासी मतदान गर्न यहाँ फर्किँदैछन्', उनले भने। 

कात्तिक मध्यबाट जिल्लावासी जाडो छल्न बेँसी जाने समयमा निर्वाचन भएपछि जिल्ला आउने क्रममा रहेका हुन् । हिउँ पर्ने समय भएको छ । खानेपानी नै जम्ने अवस्थामा छ । तर निर्वाचनले जिल्लावासीलाई यहाँ आउन बाध्य बनाएको छ ।  
    
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको मनाङमा उम्मेदवारले निर्वाचनको प्रचारप्रसारलाई तीव्र पारिरहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए। यहाँको मौसम जुनसुकै बेला प्रतिकूल हुनसक्ने भएकाले सुरक्षित व्यवस्थापन गरिएको उनले सुनाए ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि मतपत्र र ६१ प्रकारका सामग्री जिल्लामा आइसकेको शर्माले बताए । 'प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र र सामग्री मतदान केन्द्रमा पठाउनका लागि सटिङको काम भइरहेको छ । मङ्सिर १ गतेभित्र प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र मतपत्रसहित पठाउनेछौँ', उनले भने।  

प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ र नेकपा (एमाले)का पाल्तेन छोपाङ गुरुङ चुनावी मैदानमा छन् । कांग्रेसको तर्फबाट प्रदेश ‘क’ मा मुनिन्द्रजङ्ग गुरुङ र राजन गुरुङ चुनावी प्रतिस्पर्धामा छन्। प्रदेश ‘ख’ मा भने राजीव गुरुङ सर्वसम्मत निर्वाचित भइसकेका छन् । निर्वाचनमा जित हासिल गर्नका लागि घरदैलोमा पुगेर उम्मेदवार मतदातालाई रिझाउन व्यस्त छन् । 

मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी छ हजार सात सय ७९ मतदाता छन् । नासोँ गाउँपालिकामा एक हजार आठ सय ४७, चामेमा सात सय ७७, मनाङ ङिस्याङमा तीन हजार छ सय ८७ र नार्पाभूमिमा चार सय ६८ मतदाता छन् । जिल्लामा कैदीबन्दीका लागि एक अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अस्थायी मतादन केन्द्रसहित जिल्लामा २९ मतदान केन्द्र छन् ।