close

मकवानपुरमा त्रिपक्षीय भिडन्त (भिडियोसहित)

मकवानपुरमा त्रिपक्षीय भिडन्त (भिडियोसहित)

Trulli
ADVERTISEMENT

मकवानपुर । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर-१ मा त्रिपक्षीय भिडन्त हुने भएको छ ।  साना दलका प्रभावशाली उम्मेदवारका कारण प्रतिस्पर्धा रोचक बनेको छ ।

मकवानपुर १ मा वामलोकतान्त्रिक गठबन्धनबाट कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, एमालेको समर्थनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका दीपक सिंहसहित १६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्  ।

०४८ देखि लगातार चुनावी प्रतिस्पर्धामा रहेका, तर जितको स्वाद चाख्नै नपाएका उम्मेदवारहरूको यो क्षेत्रमा वर्चस्व छ । १६ जना उम्मेदवार भए पनि मुख्य गरी कांग्रेस सहमहामन्त्री डीना, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका दीपक सिंहबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 
मकवानपुर १ मा हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये २, ४, ६, ७, ८, ९, १०, १२, १३, १४, १५, १६, १७ र १८ गरी १५ वटा वडा पर्छन् । यस्तै, बकैया गाउँपालिका, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको १, २, ३ र ४ गरी चारवटा वडा पर्दछन् ।

यो क्षेत्रमा आगामी मंसिरमा हुने निर्वाचनका लागि एक लाख ५० हजार एक सय ५५ मतदाता छन् ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई हेर्ने हो भने गठबन्धनका उम्मेदवार बलियो देखिन्छन् । तर, एमालेको साथ पाएपछि कमल थापा पनि उत्साहित छन् ।

स्थानीय निर्वाचनमा हेटौँडा महानगरका मेयरका प्रत्याशी हुँदा पाएको पपुलर भोटका कारण दीपक सिंह पनि हौसिएका छन्  । उनले मेयर पदमा चुनाव लड्दा २० हजार मत पाएका थिए ।

स्थानीय निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका वडाध्यक्षले ३४ हजार ७२, माओवादी केन्द्रको १६ हजार पाँच सय ६२ र एकीकृत समाजवादीका वडाध्यक्षले तीन हजार दुई सय ८३ मत पाएका थिए । यस्तै, एमाले एक्लैको ३८ हजार ५६ मत छ भने राप्रपाको चार हजार ७० छ ।

वडाध्यक्षहरूले पाएको मतका आधारमा सत्तागठबन्धन १५ हजार मतले अगाडि छ । यसले मात्र हार वा जितको मापन गर्न कठिन छ । वडाध्यक्षहरूले पाएको मत र पालिकाका प्रमुखहरूले पाएको मत भिन्न भएकाले नागरिकले कसलाई मतदान गर्छन् भन्ने कुराको अन्दाज गर्न कठिन छ । 
प्रतिनिधिसभा सदस्य बन्न चौथोपटक चुनावी मैदानमा होमिएकी डीनालाई सत्तागठबन्धनको साथ छ । पछिल्लो समय मकवानपुरमा कांग्रेसको अवस्था राम्रो छ । जित्नैका लागि एमालेको चुनाव चिह्न सूर्य लिएर उठेका राप्रपा नेपालका कमल थापालाई पनि चुनाव जित्न सजिलो छैन ।

२०४६ पछि बनेको राप्रपा विगतमा पटक–पटक फुट्ने र जुुट्ने गरेकाले उनको पकड कमजोर बन्दै गएको छ । तर, हेटौँडा उपमहानगरपालिकामा मेयरका प्रत्याशी रहेका अहिलेका उम्मेदवार दीपक सिंहले २० हजार मत कटाएका थिए ।

दलको मत नभएको र व्यक्तिगत भोटकै आधारमा मात्रै सिंहलाई पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न फलामको चिउरा चपाउनुजत्तिकै छ । कसले जित्छ भन्दा पनि त्रिपक्षीय भिडन्तमा कसले बाजी मार्छ त्यो भने हेर्नका लागि मंसिर ४ कुर्नु पर्ने छ ।