close

उदयपुरको गाउँगाउँमा चुनावी प्रचारप्रसार तीब्र

उदयपुरको गाउँगाउँमा चुनावी प्रचारप्रसार तीब्र

Trulli
ADVERTISEMENT

उदयपुर । आगामी मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यतिबेला अधिकांश राजनीतिक दल, तिनका कार्यकर्ता र उम्मेदवार गाउँ तथा वडा केन्द्रित चुनावी प्रचारप्रसारमा छन् ।

चुनावी प्रचार–प्रसारका क्रममा दलका उम्मेदवार अन्तिम समय आइपुग्दा उदयपुरका गाउँ तथा नगरका प्रत्यक वडा–वडामा केन्द्रित भएका छन् ।

उदयपुरको निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका सदस्यका उम्मेदवार डा नारायण खड्का र प्रदेशसभा (१) का सत्ता गठबन्धनका उम्मेदवार राजन किराँती छन् । 

मङ्गलबार खड्का र किराँतीले बेलका नगरपालिकाका वडा नं १, ३, ६, ७  र ८ मा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको चुनाव प्रचार–प्रसार समितिका सदस्य कुमार राई बताउँछन् । 

उदयपुर निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनको टोलीले मङ्गलबार त्रियुगा नगपालिकामा प्रचारप्रसार सम्पन्न गरेको छ । 
नगरपालिकाको वडा नं १, ५, ३, ४ र ७ मा चुनावी कोणसभा र घरदैलो कार्यक्रम भएको निर्वाचन क्षेत्र नं १ प्रचार–प्रसार समितिका सदस्य तथा माओवादी केन्द्रका जिल्ला सचिव किरण राई बताउँछन् । 

यस्तै, एमालेका जिल्ला अध्यक्ष परमेश्वर घिमिरेका अनुसारका नेकपा एमालेबाट निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मञ्जुकुमारी चौधरीसहित प्रदेश (१) का कुशलबाबु बस्नेत र प्रदेश (२) का उम्मेदवार ईश्वरमणि राउत छन् । एमालेको टोलीले चौदण्डीगढी नगरपालिकाका अधिकांश वडामा घरदैलो कार्यक्रम गरिरहेको छ । 

निर्वाचन क्षेत्र नं २ मा पनि सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार जगन्नाथ खतिवडा गाउँगाउँमा प्रचारप्रसार गरिरहेका छन् । उनी अहिले पहाडी क्षेत्रको ताप्ली, उदयपुरगढी र रौतामाई गाउँपालिकाका प्रत्येक वडामा घरदैलो कार्यक्रममा व्यस्त रहेका निर्वाचन क्षेत्र नं २ का चनाव प्रचार–प्रसार समितिका सदस्य तथा माओवादी केन्द्रका नेता मोहन खत्री बताउँछन् ।

यसपटकको निर्वाचनमा चुनावी प्रचार–प्रसारका क्रममा जिल्लाको मुख्य सदरमुकाम गाईघाटसहित कटारी, चौदण्डीको बेल्टार तथा बेलकाको रामपुर गरगाछी बजारमा कुनै बृहत् चुनावी सभा सञ्चालन नभएको जिल्लाका राजनीतिक दलका नेता र उम्मेदवार बताउँछन् ।

कांग्रेस उदयपुरका कार्यवाहक सभापति भीमचन्द्र राईका अनुसार विगतका निर्वाचनमा राजनीतिक दलले जिल्ला सदरमुकाम र अन्य नगरका मुख्य सहरमा बृहत् चुनावीसभा र र्याली सञ्चालन गर्ने गरेको भए पनि यसपटकको निर्वाचनमा अधिकांश राजनीतिक दल गाउँ र वडा केन्द्रित तथा घर–घर गई भोट माग्ने कार्य भइरहेको छ ।

उदयपुरमा प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र र प्रदेशसभामा चार निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभा सदस्यका लागि दुबै क्षेत्रबाट जम्मा २७ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

जिल्लामा दुई लाख २८ हजार सात सय ५६ मतदाता छन् । क्षेत्र नं १ मा एक लाख २५ हजार चार सय ३२ तथा क्षेत्र नं २ मा ९३ हजार सात सय ८९ मतदाता छन् ।