close

सत्तागठबन्धनका लागि दलको प्रयास जारी

सत्तागठबन्धनका लागि दलको प्रयास जारी

Trulli
ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । निर्धारित समयभित्र नयाँ सरकारको दाबी गर्न दलहरुको प्रयास जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक आज बिहानदेखि बसेर पुन बस्ने गरि टुङ्गिएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत गठबन्धन दलहरुले आगामी सरकार गठनका लागि विभिन्न चरणमा छलफल गरी सहमतिको प्रयासमा बैठक बसेको थियो।

गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेकि थिइन्। 

गठबन्धन दलहरुले आफ्नै आगामी नयाँ सरकार गठन गर्ने सामूहिक निर्णय गरेका छन् भने गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गर्नका लागि पहल गर्ने निर्णय गरेको छ ।

उता निर्वाचनमा दोस्रो ठूलो दल बनेको नेकपा (एमाले) पनि सत्तामा जान छलफल अगाडी बढाइरहेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा हाल  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई सहित अन्य नेताहरुबिच सत्ता गठबन्धनको विषयमा छलफल भइरहेको छ । यसअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ओलीलाई भेटेका थिए । 

हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन्। 

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका दुई सय ७५ सिटमध्ये कांग्रेस ८९, नेकपा (एमाले) ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी नेपाल १२, नेकपा (एकीकृत समाजवादी) १०, जनमत पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी एक÷एक स्थानमा तथा पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।