close

आज साउने संक्रान्ति, नाङ्लो ठटाएर लुतो फाल्ने दिन

आज साउने संक्रान्ति, नाङ्लो ठटाएर लुतो फाल्ने दिन

Trulli
ADVERTISEMENT

काठमाडौँ । आज साउने संक्रान्ति पर्व हरेक नेपालीको घरघरमा मनाइँदैछ ।

सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने अर्थात कर्कट संक्रान्ति पर्व स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाउन लागिएको हो ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्तिको रुपमा मनाउने प्राचीन परम्परा छ । 

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताए । 

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । 

लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ। साउन महिनालाई हिन्दु धर्मावलम्बीले विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । 

महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले बताए ।