close

आज साँझ नेवार समुदायमा 'गथामुंग' भगाइँदै

आज साँझ नेवार समुदायमा 'गथामुंग' भगाइँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । छरिएका छ्वाली छेवैमा रहेको नर्कटको थुप्रो । कोही छ्वालीलाई बाँध्न व्यस्त थिए । त कोही नर्कटलाई मुठो बनाउन । सबैजना गथामुंगको पुत्ला बनाउन अस्तव्यस्त देखिन्थे ।  

पुत्ला बनाउनका लागि चाहिने गहुँको बोट (छ्वाली), नर्कटलगायत सामग्री संकलन गरेर बनाइने उनीहरू बताउँछन् । गथामुंग भनेको भूत भगाउने पर्व भएकोले आफूहरू जम्मा भएको रामचन्द्र प्रजापतिले बताए । 

उमेरले ६ दशक टेकेका प्रजापति आफूले थाहा पाएदेखि नै गथामंगको दिन टोलका सबै घरबाट छ्वाली, नर्कट, सिस्नो तथा आवश्यक सामग्री संकलन गरी  बनाइने बताए । ‘टोलका सबै जना भेला हुन्छौँ । कोही छ्वाली बटुल्न जान्छौं कोही नर्कट,’ उनले भने, ‘अनि ल्याएको सामग्रीलाई जम्मा गरेर तीन खुटे राक्षस बनाउँछौँ ।’

राक्षसको पुत्ला बनाइसकेपछि बाजागाजा सहित घरघरबाट छ्वालीको मुस्लो बालेर टोलका छ्वास (दोबाटो)मा जलाउने उनले बताए । उक्त पुत्लालाई जलाएर घरमा गई भोज खाने प्रचलन रहेको प्रजापतिको अनुभव छ । 

प्रत्येक वर्षको श्रावण चतुदर्शीका दिन भक्तपुरसँगै उपत्यकाका नेवार समुदायले गथामुंग मनाउने उनले बताए । उनले आफूहरूले यस दिन टोलटोलको दोबाटोमा जलाउने पुत्लालाई राक्षसको संज्ञा दिइने गरेको बताए । 

संस्कृतविद् ओम धौंभडेलका गथामुंग सिनज्या(खेतको काम) पछिको पहिलो चाड हो । उनले रोपाइमा नेवार समुदाय काममा व्यस्त हुने भएकोले कुनै चावपर्व मनाउन पाएका हुँदैन । कामबाट फुर्सद भएसँगै आजको दिनबाट विभिन्न चाडपर्वहरू सुरु हुने उनले जानकारी दिए । 

घरमा शान्ति आओस्, रोगव्यादीहरू नलागोस् भन्ने धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको उनले बताए । ‘वर्षायाममा धेरै बिरामी हुन्छन् । भूत अर्थात् राक्षसको कारणले विरामी भएको मान्यता छ,’ उनले भने, ‘दुख दिने भूतलाई दिनभरी बाँधेर साँझ टोलभन्दा दोबाटो वा चौवाटोमा लगेर जलाइने गरिन्छ ।’

गथामुंगको धार्मिकसँगै सांस्कृतिक महत्त्वसँगै वैज्ञानिक महत्व रहेको उनले सुनाए । उनले गथामुंगमा घरघरमा बाल्ने छ्वालीका आगोले घरभित्रको कुनाकाप्चामा रहेका किरा मारेर सफा  गरिने बताए । 

‘रोपाइका कारण किसानले घर सफा गर्न पाएका हुँदैनन् । जसले कुनाकाप्चामा धेरै फोहोरहरू थुप्रेका हुन्छन्,’ उनले भने, ‘छ्वालीको आगोलाई कुनाकाप्चामा लगिन्छ । त्यसैबाट आएको धुवाँ र आगोले कुनाकाप्चामा रहेको किरा, लामखुट्टेहरू मर्छन् । र घर सफा हुने मान्यता छ ।’ 

उनले आजको दिनबाट नेवार समुदायमा बाजागाजा बजाउन फुकुवा हुने बताए । आजका दिनबाट बाजागाजा सिकाउन र बजाउन पाइन्छ, उनले भने । गथामुंगलाई अश्लिल र भद्दा बनाउनका लागि हरिया भोगटे प्रयोग गरिने उनले सुनाए ।