close

गौरा सकिएलगत्तै देउडाको रौनक सुरु

गौरा सकिएलगत्तै देउडाको रौनक सुरु

Trulli
ADVERTISEMENT

धनगढी । गौरा सकिएपछि सुदूरपश्चिम प्रदेशमा देउडाको रौनक छाएको छ । कोरोना महामारीका कारण केही वर्ष देउडामा रमाउन नपाएका सुदूरपश्चिमेलीहरू यस वर्ष खुलेर देउडामा रमाइरहेका छन् । गौरा सकिएको दिनदेखि धनगढीको वनदेवी मन्दिर परिसर र धनगढी उपमहानगरपालिका परिसर देउडामय बनेको हो ।

कोरोना महामारीका कारण केही वर्ष देउडा खेलमा रमाउन नपाएकाले यस वर्ष खुलेर रमाइरहेको देउडा खेलमा सहभागीहरूको भनाइ छ । ‘वर्ष दिनको दुःखकष्ट बिर्सेर देउडा खेलमा रमाइरहेका छौँ’, धनगढी उपमहानगरपालिका–५ का लीलाधार भण्डारी भने, ‘यो खेलमा कसैलाई पनि भेद्भाव हुँदैन । सबै हातमा हात समातेर खेल्ने गर्दछौँ ।’ 

धनगढीको वनदेवी मन्दिर परिसरमा महिला समूह र धनगढी उपमहानगरपालिका परिसरमा पुरुष, युवकयुवतीको समूह देउडा खेलिरहेका छन् । सबै काँधमा काँध र पैताला मिलाएर देउडा खेलमा रमाइरहेका देखिन्छन् । उनीहरू सुखदुःख, मिलन विछोड, मायाप्रीतिका कुरा देउडा गीतमार्फत व्यक्त गर्ने र तालमा ताल मिलाएर देउडा खेल्दै छन् ।

पछिल्लो समय राजनीतिमाथि तिखो व्यङ्ग्य प्रहार गर्दै देउडा खेल्ने कार्य पनि हुँदै आएको छ । गौरा सकिएपछि अठवालीदेखि एक हप्तासम्म देउडा खेल्ने चलन रहेको संस्कृतिविद् तथा कैलाली जनपुस्तकालयका अध्यक्ष टीएन जोशीले बताए । 

सुदूरपश्चिम प्रदेशको पहाडी समुदायमा जुनसुकै उत्सव र खुसियालीमा देउडा खेल खेल्ने गरिन्छ । गौरा पर्वमा गौरा खेल खेल्न नजान्नेका लागि देउडा नै आनन्दको विकल्प रहेको साहित्यकार तीर्थराज भट्टको भनाइ छ । गौरामा मनोरञ्जनका लागि देउडा खेल खेलिने गरे पनि गौरा देउडाको पर्व भने नरहेको उनले बताए । 

गौरामा देउडासँगै चैत, धमारी, भोलाउलो, ढुस्को, होरी, लैबिरे छम्क, खेलमेरो दर्कादरी, चौबन्दी आमै, च्याट्ट पुतलीजस्ता खेल खेल्न सकिने भट्टको बुझाइ छ । गौरा पर्वको अवसर पारेर सुदूरपश्चिमका विभिन्न ठाउँमा देउडा खेलको प्रतियोगितासमेत आयोजना भइरहेका छन् ।