close

नवरात्रको पहिलो दिन : घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन : घरघरमा घटस्थापनासहित जमरा राखिँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । आज नवरात्रको पहिलो दिन । घरघरमा  घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ । 

घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ ।

नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजा आराधना गरिन्छ । 
 
हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उनैको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

त्यसैगरी, घटस्थापनासँगै काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्छ ।

यस्तै, आजैबाट परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ ।

सोमबार समितिले दिएको साइतमा विधिपूर्वक घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।

दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।

विसं २०७७ को महानवमीका दिन कोरोना महामारीका कारण महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगाको बलि दिइएन । हनुमानढोकाको दसैँ घरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मङ्गल धुन पनि गाइन्छ । यो क्रम विजयादशमीका दिनसम्म जारी रहन्छ ।