close

दशैँ गाउँमै रमाइलो

Trulli
ADVERTISEMENT

काठमाडौं । रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् ।

 दश वर्ष अघि बागलुङ नगरपालिका–८ स्थित मैनाकली कार्कीको परिवार गाउँमै ठूलो थियो । एघार जनाको परिवार रहेको उनका श्रीमान‍्को मृत्यु भयो । छोरा छोरी र नातनातीना बजार झरेपछि उहाँ एक्लै हुनुभएको छ । उहाँमात्रै हैन अहिले सोही गाउँका अधिकांश घरमा बुढाबुढी मात्रै छन् । तर, उक्त गाउँको खुसी दशैसंगै फर्किएको छ । अहिले गाउँमा दशैको रमझमले कार्कीसहित अन्य गाउँले औधी खुसी भएका छन् ।

दशैँ शुरु भएपछि मैनाकुमारी कार्की जस्तै बुढाबुढीको खुसी फर्केको छ । दशैँ आएपछि घर लिप पोत गरेर चिटिक्क बनाइको छ भने परिवार दशैँ मान्न घरमा आउने क्रम जारी छ । 

‘जागिर, व्यवसाय तथा अध्ययनका कारण म बाहेक घरमा कोही छैन, कोही विदेश गएका छन् भने केही बागलुङ सदरमुकाममा छन्,’ मैनाले भने, ‘तर, दशैँ तिहार आएपछि विदेश गएका समेत आए भने बजारमा बस्दै आएका छोरा नाती सबै आउदा मनमा दसैं आएको आभाष भएको छ, एक्लै बस्दा न्यास्रो लाग्ने मलाई दशैँले गर्दा खुसी फर्किएको छ ।’

यस्तै हर्कबहादुर जिसीले दशैँमा कोसेलीका रुपमा बारीमा पसाएका दुई घारी केरा पकाउनलाई राखेका छन् । उनले गाउँमा दशैँ आएका परिवारलाई खुवाउनका लागि केरा पकाउन राखेको बताए । 

गाउँमा अहिले युवा पुस्ता पाइनै छाडेपछि लिङ्गेपिङ र चर्खे पिङ देखिनै छाडेको भए पनि गाउँ फर्कर्नेको संख्यामा वृद्धि भएको छ । 

झार उम्रेका घर आगन समेत सरसफाइ गरेर चिटिक्क परेका छन् भने बाटो घाटो र चौतारी पोखरी सरसफाई गरिएको छ । ‘दशैँमा छोरानाति आउने भएपछि बारीका केरा पकाउन राखे, घर लिप पोत गरेर चिटिक्क छ’ उनले भने, ‘एक वर्ष सम्म बुढाबुढी मात्रै बस्दै वित्छ दशैँ तिहारमा त छोरा बुहारी र नातनातीनासँग बस्न पाइन्छ, त्यस्तै छ अहिलेको दशैँ ।’ 
बसाइसराइले बन्द रहेको घरमा समेत अहिले दशैँ मनाउन फर्केकाले  सरसफाइ गरेर चिटिक्क बनाएका छन् ।  अघि पछि गाउँको खुसी नै लुटिएपनि दशैँ आउदा भने गाउँको मुहारै फेरिने गरेको स्थानीय छमकली कुँवरले बताइन् । उनले बढ्दो शहरीकरणका कारण र बसाइ सराइका कारण गाउँहरु बिस्तारै उजाडिदै गएको बताइन् । 

‘अघिपछि गाउँ शून्य हुन्छ, मर्दा पर्दा समेत समस्या छ, तर दशैँ आएपछि गाउँ मात्रै भरिदैन गाउँको खुसी नै फर्कन्छ’ उहाँले भनिन्, ‘गाउँ भरिभराउ हुन्छ, एक वर्षमा भए पनि दशैँको टीका गाउँमै लगाउने जनाउँदै बजारमा घर भएकासमेत गाउँ फर्कन्छन्, अघि पछि शून्य गाउँ दशैँ आएपछि चहल पहल हुन्छ ।’

उनका अनुसार गाउँमा मानिसको भीडभाड र परिवारका सबै मानिस जम्मा भएपछि  हुने रमाइलोले दशैँको महत्वलाई झल्काउने गरेको छ । 

नेपालीको मुख्य चाडपर्वका रुपमा रहेको दशैँ, शुभदीपावली, छठ तथा नेपालसम्बत मनाउन घर फर्कनेको लर्को र किनमेलका लागि बागलुङ बजारमा चहल पहल छाएको व्यपारीहरुले बताएका छन् ।

गाउँ जाने यातयातका साधनले धमाधम गाउँमा यात्रु ओसारीरहेका छन् ।  

दशैँमा घर रातोमाटो, पहेँलोमाटो र कमेरोले लिप पोत गर्ने, विग्रे भत्केको मर्मत गर्ने, आगन तथा बाटो घाटो सरसफाइ गर्ने प्रचलनले दशैँमा खोसिएको गाउँको खुसी फर्कन्छ ।