close

थारु समुदायको दशैँ रौनकता : आज मुर्गा पुज्ने दिन

थारु समुदायको दशैँ रौनकता : आज मुर्गा पुज्ने दिन

Trulli
ADVERTISEMENT

काठमाडौं । थारु गाउँमा दशैँको रौनकता छाएको छ । सखिया, झुम्रा, छोक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भएका छन् । 

विगतका दुई वर्ष कोरोना सङ्क्रमणका कारण थारु समुदायले दशैँलगायतका चाडपर्व सहजरुपमा मनाउन पाएका थिएनन् । विदेश गएका कोरोनाकै कारण फर्केका थिएनन् । कोरोनको कहरका कारण घर परिवारसँगै बसेर दशैँ मनाइएको थियो । सामूहिकरुपमा टीका थाप्न पाइएको थिएन । कोरोनाका सङ्क्रमण घटेसँगै विदेश गएका यस पटकको दशैँ मनाउन स्वदेश फर्केका छन् । विदेशबाट फर्केका परिवारसँग भलाकुसारी गर्दै दशैँ मनाइरहेको कृष्णपुर नगरपालिका–२ का दुर्गाप्रसाद चौधरीले बताए । 
 
सामूहिकरुपमा आयोजना हुने नृत्यले सामूहिक भावनाको विकासमा यसले मद्दत पुर्‍याउने उनको भनाइ रहेको छ । दशैँका बेला नाच दशदेखि पन्ध्र दिनसम्म आयोजना गरिन्छ ।   अरु बेला जे जस्तो तरिकाले परिवारको भरणपोषण गरिँदै आए पनि दशैँका बेला थारु समुदायमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने चलन रहेको छ ।
 
दशैँका बेला थारु समुदायका घरमा ढिक्री, सँगुर, कुखुरा, खसी, बोकाको मासु, घोँघी, पोइक साग, फुलौरी, ठेक्वा, माछाका परिकार बनाइने गरिन्छ । यी परिकार घरमै बनाइएको अन्ती धानको गुरी जाँड र दारु (मदिरा) सँग खाने गरिन्छ । घरमा आएका पाहुनालाई यिनै परिकारले स्वागत गरिन्छ ।
 
नवमीको दिन आज थारु समुदायले मुर्गा पुज्ना दिन (मुर्गा पुज्ने दिनं) का रुपमा मनाउँदै छन् । बिहानै नदी तलाउमा नुहाएर शुद्ध भई थारु समुदायले पितृको सम्झना गर्दै देउथानमा बत्ति बालेर मुर्गा पुज्ने कार्यमा लागेका छन् । मुर्गा पुज्नु अघि देउथानमा रहेका देवताको अगाडि भात, तरकारी, घरैया रक्सी(घरमै बनेको मदिरा), पानी राख्नुपर्ने चरन चौधरीले सुनाए । 

उनका अनुसार टपरीमाथि बह्रनी, जमरा, वेवरी, आदि चढाउनुपर्दछ । चढाइएका खाद्य पदार्थ पितृले आएर ग्रहण गर्ने विश्वास थारु समुदायमा रहेको छ । सिन्दूरले देवतालाई टीका लगाइ जल, दूध, मदिराको धार देवतामा चढाउनुपर्दछ । त्यस पछि मात्रै मुर्गा पुज्ने क्रम सुरु हुन्छ । 

मुर्गा पुज्ने कार्य सकिए पछि घरका सबैसँगै सबेर सामूहिकरुपमा भोजन ग्रहण गर्दछन । पितृलाई चढाइएका सामग्री नजिकको नदी, तलाउमा विर्षजन गर्न नृत्य टोलीसहित थारु समुदायका व्यक्ति जाने गर्दछन् । जसमा महिलाको सक्रियता बढी रहने गर्दछ । यस क्रममा नाचगान गरी रमाइलो गर्ने चलन रहेको छ ।