close

विजयादशमी आज : टीकाको साइत ११:५१ बजे, कता फर्केर लगाउने ?

विजयादशमी आज : टीकाको साइत ११:५१ बजे, कता फर्केर लगाउने ?

Trulli
ADVERTISEMENT

काठमाडौं । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट टीका र जमरा लगाइँदैछ । बडा दशैँको टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले  जनाएको छ ।

घटस्थापनाका दिन दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

टीका लगाउँदा कुन दिशा फर्किएर बस्ने भन्ने कुरालाई ख्याल राख्नुपर्ने हुन्छ । टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्किनु पर्ने वास्तुविद एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्री बताउँछन् ।

आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने उनको भनाइ छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने  बडा दशैंको सबैभन्दा महत्त्वपूर्ण दिन विजयादशमी हो ।