close

मान्यजनबाट टीका र आशिर्वाद लिने क्रम आज पनि जारी

मान्यजनबाट टीका र आशिर्वाद लिने क्रम आज पनि जारी

Trulli
ADVERTISEMENT

काठमाडौं । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । 

नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नसकेकाहरु आज भने राजधानीमा आकाश खुलेकाले बिहानैदेखि हिँड्न थालेका छन् । 

विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएकाले नवदुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद लिन टाढाटाढा आफन्तकहाँ जान कठिन भएको थियो ।

दुई दिनसम्म हिँड्न नपाएका राजधानीवासीको आज भने आकाश खुलेसँगै बिहानैदेखि चहपहल देखिएको हो । 
    
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको असरले वर्षा भएको जनाएको छ । महानवमीदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै एवं बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ  । 

राधानीमा आकाश केही खुलेको देखिए पनि पश्चिम नेपालमा अझै वर्षाको सम्भावना रहेको जनाइएको छ । त्यस क्षेत्रका मानिसलाई भने अझै दुर्गाको प्रसाद लगाउन र आशीर्वाद थाप्न असहज हुने देखिएको छ । पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा कुनै बाधा नरहेको बताउनुहुन्छ । केही दिन सुनसान रहेको राजधानी सहरमा आज बिहानदेखि भने केही चहलपहल देखिन थालेको छ ।