close

आज काग तिहार : काग सम्मेलन पनि आजै

आज काग तिहार : काग सम्मेलन पनि आजै

Trulli
ADVERTISEMENT

काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदैछ । आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ । 

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो-मीठो खान दिई खुसी पार्ने गरिएको हो।      

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । आज कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ । हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

हिजो शनिबार कार्तिक कृष्ण त्रयोदशीको साँझ यमदीप दान गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीप दान गरिन्छ । 

त्यस्तै आज आज बिहान रत्नपार्कमा १९औं काग सम्मेलन हुने भएको छ । काग तिहारको अवसरमा काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा ग्रिन सिटी अस्पताल वसुन्धराले आयोजना गर्न लागेको हो । सम्मेलन बिहान ६ देखि ७ बजेसम्म हुनेछ । 

सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुंगीको आवाज निकाल्ने इलामका रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गर्ने कार्यक्रम छ । दुलालले काग सम्मेलनमा ४०० कागलाई एकै ठाउँमा जम्मा पार्ने दाबी गरेका छन् । 

विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यस वर्ष पनि कागलाई बोलाएर काग तिहार मनाउन लागेका हुन् । “कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ, कागलाई बोलाउँदा मलाई आपत् पर्‍यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आउँछन्”, उनले भने । 

कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्पराअनुसार काग तिहारको दिनमा मीठा खानेकुरा दिने चलन छ ।