close

एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा

एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा

Trulli
ADVERTISEMENT

काठमाडौं । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको हो ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप बालेर दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ ।

आजै साँझ धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । लक्ष्मी पूजाका लागि आज बेलुका चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।

आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।