close

नौमती बाजा बजाउँदै पोखरादेखि बागलुङसम्म

नौमती बाजा बजाउँदै पोखरादेखि बागलुङसम्म

Trulli
ADVERTISEMENT

कास्की । सोमबार साँझपख बागलुङ बजारको हल्लनचोकमा ठूलो भीड थियो । त्यो भीडमा कोही नाचिरहेका थिए । कोही बाजा बजाइरहेका थिए । त्यो दृश्य देख्दा लाग्थ्यो कि यहाँ कसैको विवाह भइरहेको छ । तर त्यस्तो भइरहेको थिएन । यस भीडमा पोखरा महानगरपालिका–२६ देखि आएका मगर नौमती बाजा समूहले बागलुङे युवालाई नचाइरहेका थिए। बाजा बजाउनेमा अधिकांश महिला थिए । सनाइँ, कर्नाल र बिकुल बजाउने भने पुरुष थिए । उनीहरूले पञ्चेबाजा पोसाकमा सजिएर देउसीभैलोसमेत खेलेका थिए ।

पोखरा अघौँचोकबाट आएका मगर बाजा समूहको उद्देश्य भैलो खेलेर आर्थिक सङ्कलन गर्नेभन्दा पनि लोप हुँदै गएको नौमती पञ्चेबाजाको संरक्षण र प्रचारप्रसार गर्नु थियो । नौमतीबाजासहित देउसीभैलो खेल्दै बागलुङ आएका उनीहरूले मौलिक गीतलाई जोड दिएका थिए । मौलिक कला, संस्कृतिको संरक्षणमा जुटेको यो समूहले प्रचार कार्डहरू पनि दर्शकहरूलाई बाँडिरहेको थियो । बजारमा यमपञ्चक सुरु भएदेखि देउसीभैलो खेल्ने टोली धेरै थियो तर उनीहरूको भन्दा नौमती बाजा समूहको प्रस्तुति बिल्कुलै फरक थियो । जसमा मौलिकता झल्किन्थ्यो ।

मगर बाजा समूहकी सचिव रोजी पुन मगरले नौमतीबाजा हराउँदै गएपछि देउसीभैलोसँगै बाजालाई जोड्न थालेको बताइन । उनले पछिल्लो समय बाजा बजाउने प्रचलन घट्दै गएको र आफूहरू सङ्गठित भएर यसको संरक्षणमा लागेको बताइन । पुनले पहिले–पहिले दलित समुदायले बाजा बजाउने गरे पनि पछिपछि मगर समुदायमा पनि यो प्रचलन आएको बताइन्। ‘बाजा बजाउनु कला हो, सीप हो, दलितले मात्रै बजाउनुपर्छ भन्ने छैन, जसको हातमा सीप छ उसैले बजाउने हो, पहिला दलित समुदायका दाइभाइहरूले बजाउथे पछि गएर हामी मगरहरूले पनि बजाउन जान्यौँ, पहिले पुरुषहरूले मात्रै बजाउथे भने अहिले महिलाहरूले पनि बजाउँछौँ’, पुनले भनिन्, ‘हामी यहाँ आएको देख्दा धेरैलाई पैसा उठाउन आएका हुन् भन्ने लागेको होला, हामी त्यो नभएर, नौमती बाजा संरक्षणका लागि प्रचारप्रसार गर्ने उद्देश्यले आएका छौँ, तिहारको बेला भएको हुँदा देउसीभैलो खेल्ने त स्वाभाविक नै भयो ।’

उनले पहिले–पहिले विवाह, छैटी, भातखुवाइ र ठूला सभासमारोहमा बाजा बजाउने प्रचलन भए पनि पछिल्लो समय कम हुँदै गएको बताईन । बाजा निश्चित समुदायले बजाउने गर्दै आएकामा उनीहरूले अहिले चासो देखाउन छोडेपछि नौमती बाजा सङ्कटमा पर्दै गएको पुनको भनाइ छ । उनले बाजा बजाउन जान्ने जुन समुदायको मानिसले पनि बजाउन सक्ने भन्दै आफूहरू यसको संरक्षणमा जुटेको बताइन् । 

उनी भन्छिन्, ‘हामीहरूले सुरुमा बाजा बजाउँदा धेरैले नराम्रो सोचे तर अहिले राम्रो मान्न चालेका छन्, जे काम पनि सीप भएकाले गर्ने हो, काम जान्यो भने जुन काम पनि गर्दा हुन्छ, कसैको निधारमा लेखेको हुँदैन, तैँले यो काम गरे भनेर, काम त जान्नेले गर्ने हो, पहिले दलित समुदायले बजाउथे, अहिले उनीहरूले बजाउन छोड्दै गएकाले, हामीहरूले चासो दियौँ र बजाउन थाल्यौँ, केही समस्या छैन, अहिले धेरै ठाउँबाट बाजा बजाउने माग आउँछ ।’

उक्त समूहमा ढोलकी बजाउने नरबहादुर पुनले पञ्चेबाजाको आफ्नै प्रकारको शैली र महत्त्व भए पनि पछिल्लो पुस्ता आधुनिकतातिर केन्द्रित हुन थालेपछि सङ्कटमा पर्दै गएको गुनासो गरे । पञ्चेबाजाप्रति पछिल्लो पिँढीलाई जिम्मेवार बनाउन आफूहरू लागिरहेको उनको भनाइ छ । पुनले नयाँलाई सिकाउनकै लागि आफू पोखरादेखि बागलुङसम्म आएको बताए। ‘मैले पहिलेदेखि नै बाजा बजाउन जानेको थिएँ, बजाएँ पनि, अहिलेका युवा पुस्तामा सिक्ने भन्ने ध्यान छैन, खाली विदेशी गाना गाउने मात्रै गर्छन्, अहिले हाम्रा ठिटाहरूले निकै चासो दिए, यिनीहरूसँगै साना केटाकेटीहरूलाई पनि सिकाउनुपर्छ भनेर म बुढो पनि यहाँसम्म बजाउँदै आएको छु’, उनी भन्छन्, ‘कसैले पनि नराम्रो नमान्दिनु होला, यो त संस्कृति हो, बचाउनु पर्छ ।’

पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक नौमतीबाजा जोगाउन युवाहरूलाई आफूले नै सक्रिय बनाएको पुन बताउछन्। पहिले गाउँमा बाजा बजाउने समूह नै नपुगेको भन्दै अहिले सिक्दै गरेका नयाँ युवाहरूले गर्दा बजाउन हिँड्न थालेको पुनको भनाइ छ । ‘अहिले नयाँ युवा केटाहरूले गर्दा टिम पुगेको छ, पहिले त टिमै पुग्दैनथ्यो, अहिले छोरी बुहारीहरूले पनि बजाउन सिके, अब यिनीहरूले छोडेनन् भने केही वर्ष बजाउन सक्नेछौँ’, पुनले भने । 

नौमती मगर बाजा समूहका अध्यक्ष जीवन पुन मगरले देउसीभैलोसँगै बाजा संरक्षणको प्रचाप्रसारका लागि बागलुङसम्म आएको बताउँछन् । बागलुङ पनि पञ्चेबाजामा प्रख्यात जिल्ला भएको हुँदा अरू ठाउँमा पनि अझै बाजा बजाउने प्रचलन रैछ भन्ने सन्देश दिन आएको उनको भनाइ छ । पुन मगर भन्छन्, ‘बागलुङमा दलित समुदायका दाइभाइहरूले अहिले पनि बाजा बजाउँदै आएका छन्, तर हाम्रोतिर कम भएको छ, यो जिल्ला निकै चर्चित छ, पञ्चेबाजामा त्यही भएर हामीहरू अरू ठाउँमा पनि अझै बाजा बजाउने प्रचलन रैछ है भन्ने सन्देश छोडौँ र हाम्रो प्रचार गरौँ भनेर आएका हौँ ।’