अजिब कै छ, यो देश ।
जनताको समस्या एकातिर छ अनि देश चलाउने नेताहरूको स्वार्थ अर्कैतिर । सरकारमा बसेका वा नबसेका दल र नेताहरूलाई मधेसलाई अहिले सताइरहेको समस्या बारे थाहा छैन भन्न सकिँदैन । तर, अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुको स्वागत र भेटघाटलाई अति नै महत्व दिइरहेको सरकारले एकचोटी तराईतिर फर्केर हेर्ने फुर्सद भने पाएको छैन ।
मधेसी कै मतबाट सत्तामा पुगेका दलहरूले त्यहाँ समस्या देखेका छन् । कुरा उठाएका छन्, पानी नपरेर रोपाइँमा समस्या आएको मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न । मनसुनले देशका पहाडी भेगलाई रुवाइ रहेको नदेख्ने सरकारले मधेसमा पानी नपरेर चिरा पर्न थालेका खेतहरू झन् के देखेको होला र खै ?
सरकारले देखेको छ । विपक्षीले देखेको छ । अमेरिकी सहायक विदेशमन्त्री लुको काठमाडौँ बसाइको तालिका । अनि एसपीपीका शब्दहरू र एमसीसीका तानाबाना ।
हुन पनि होला ! राजधानीमा ठाँटको जीवन बिताइरहेका नेताहरूलाई के मतलब, पानीको अभावमा मौलाउन नसकेर खेत मै सुक्दै गरेका धानका बालाहरूको । सरकारलाई के मतलब, पहेँला बनेका ब्याड हेर्दै टाउको हात राखेर आँखामा आँसु रसाएका किसानहरूको । तर थाहा त होला नि यो राज्य शासकहरूलाई, पानी नपर्दा खेतमा चुहिएका आँसुले मात्रै रोपाइँ हुन सक्दैन भन्ने कुरा । तर, हाम्रा शासकहरू यति निर्घिनी बनिसके कि, भोलि त्यही आँसु डलर वा भारुमा बेचे भने अचम्म मान्न नपर्ला ?
सरकारलाई लाग्दो हो ! ती किसानहरू त जन्मजात कै दुखी हुन् । किन बोल्नु पर्यो, ती भुइँमान्छेका बारेमा । किन सम्बोधन गर्नु पर्यो उनीहरूका पीडालाई । बोल्न र भाउ दिन परे गोरो रंगलाई दिनु पर्छ, हरियो डलरलाई दिनु पर्छ । यस्तै लाग्दो, हो सरकारलाई ।
सडक तताउनै परे, गोरो रंग र डलर कै विरुद्ध तताउनु पर्छ भन्ने लाग्दो हो सरकार विरोधिहरुलाई पनि । त्यसैले त होला, लुलाई कालो झन्डा देखाउनेले तराईमा सुकेर पहेँलो बनेका धानका बालाहरू देख्न नसकेका । त्यस विषयमा बोल्न सरकारलाई घचघच्याउन नसकेका ।
खेती नसप्रे भोलि के खाने भन्ने पीडामा रहेका गरिबको के नै भाउ रहेछ र ? उनीहरूको दुखलाई कसले पो सम्बोधन गर्छन् र ? हुनत आखिर उनीहरूलाई यो राज्यले कहिले पो आफ्नै नागरिक मानेको छ र’ ? अनि उनीहरूका आँसु पुछ्नु । बरु त्यही तराईमा छिमेकी देशबाट छिरेकाहरूलाई राज्यसत्तासम्म पहुँच दिलाउन सक्दा पो खुसी हुन्छन्, उनीहरूका प्रभु । रिझाउन परे नै, आँसु पुछिदिने कोही नभएका ती भुइँमान्छेलाई होइन, बरु छिमेकका प्रभुहरूलाई रिझाउनु पर्दो रहेछ । यस्तै नै रहेछ, यहाँको चलन ।
अहिलेसम्म बुझेका छैनन्, जनताले उनीहरूलाई । ५ वर्ष फर्किने नमस्कारभित्र लुकेका स्वार्थहरूलाई ।
सही हो सरकार ! भाउ त झन्डै झन्डै एमसीसी पारित नहुँदा ‘टेन्सन’ मा परेका अमेरिकाबाट आउने लु पो दिनु पर्थ्यो र दिइयो पनि । आश्वासन दिनै परे, नेपालले एसपीपी अनुमोदन नगर्दा चिन्तामा परेको अमेरिकालाई पो दिने हो । झन्डै संसदबाट पारित नभएको नागरिकता विधेयकका कारण चिन्तामा परेको भारतलाई पो रिझाउनु पर्ने थियो । विधेयक पास गरेर रिझाइयो पनि । बरु हामी खुसी हुनु पर्छ, आज अचाक्ली गर्मीले सुख्खा बनेको मधेसमा अब बिस्तारै बिस्तारै जनसंख्या बढ्ने छ । त्यसपछि धान उम्रिने खेतमा घरै घर फल्ने छन् । सारा देशको जनसंख्याभन्दा आयातित जनसंख्या बढी हुनेछ । त्यसपछि न खेत रोप्न वर्षालाई कुर्नु पर्छ नत नहरबाट आउने पानीलाई नै । किनकि त्यसबेला न तिम्रो घर रहन्छ, नत जोत्ने खेत नै ।
माना रोपेर मुरी फलाउँदै देशलाई समृद्ध बनाउनेलाई यही देशमा अनागरिक बनाइँदै छ । अनि अनागरिकलाई वंशजको नागरिक बनाउन सरकार तँछाड मछाड गर्दैछ । गरिबहरूले त आखिर भाग्यमा नै पीडा लेखेर आएका हुन्छन् । हिजो जे भोगियो, भोलि पनि त्यो भोग्नै पर्छ । सीमांकृत वर्ग आज पनि हेपिएका छन्, भोलि पनि हेपिनिनै छन् ।
कसलाई पो थाहा छैन र ! भोकको आगोले रापिएको पेटमा अनाज नपुग्दा कति पीडा हुन्छ भन्ने । ती शोषित वर्गले त हरेक वर्ष व्यहोर्दै आएको दुख नै हो यो । कसलाई पो थाहा छैन र ! सन्तानलाई रुखोपिठो ख्वाउन नसक्दा आँखा रसाउनु, उनीहरूको निधार मै लेखिएको छ भन्ने ।
भारत, अमेरिका जस्ता देशतिर सधैँ ट्वाँ परेर हेर्दा हेर्दै आफ्नै नागरिकको पीडा नदेख्ने सरकारका सामु किन दुख बिसाउनु ? सरकार न सुन्न सक्छ नत बोल्न नै ।
आजसम्म जनताका कुरा कुन सरकारले सुनेको छ र’, अहिले सुन्ला भनेर आशा गर्नु । सरकारमा बस्नेको ध्यान र स्वार्थ कता बाङ्गिएको छ भन्ने आखिर कसलाई पो थाहा नहोला र’? व्यथैमा चिच्याइ रहनु ।
पोहोर फलेका धानलाई पानीले लडायो । किसान मर्कामा परेकै थिए । सरकारले के नै पो गरेको थियो र’? आखिर उनीहरू जेनतेन बाँची हाले। खान नपाएर मरेको समाचार कतै आएन । हिजो अभावमा बाँच्न सक्नेले भोलि पनि अभाव झेल्न सक्छ नै । सरकारलाई यो कुरा भने राम्रैसँग थाहा छ ।
त्यसैले सरकार ! यहाँको ध्यान प्रचण्ड गर्मीले तराईमा सुख्खा बनाएको खेतमा हैन, एसपीपी वा त्यही जस्तो अर्को कुनै सम्झौता गर्न आएका ‘लु!मा जानै पर्छ । नत्र अमेरिका रिसाउने छ । चिन्ता त्यो लिनुस् ।
खान नपाएर मुठ्ठीभरको ज्यान धानेर बस्नेहरूभन्दा अजङका छिमेकी र मित्रराष्ट्रहरू नै यहाँहरूको प्यारो बन्नु पर्छ र बनिरहेका छन् । यो नै यहाँहरूको सफलता हो ।
यति गर्न नसके कसरी सिंहदरबार सधैँ यहाँहरूको कब्जामा रहन्छ नै ? अनि पो ती निमुखा जनताहरूको रसाएको आँखाले नाप्न नसक्ने कुर्सीहरूमा सधैँ यहाँहरूको रजाइँ चलि नै रहन्छ ।
जय होस् सरकारको ! जय होस् नेताज्युहरुको ! जय होस् !
ती निमुखा जनताहरूको आँसुले यहाँहरूलाई कहिल्यै पोल्न नसकोस् ! पिरोल्न नसकोस् !
जय होस् !